ठग नेता र पार्टीलाई तह लगाएमात्र सामाजिक र आर्थिक रुपान्तरण सम्भव : नेता यादव
आफ्नो स्वार्थ पूर्ति गर्न समाज र जनताको भविष्यसँग खेलवाड गर्नेहरुलाई जनताले चिन्नुपर्ने समय आएको बताए ।

२०७६ मंसिर १३ शुक्रबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवं संघीय सांसद राजकिशोर यादवले विकास निर्माणका सवालमा समेत खुट्टा तान्ने प्रवृति हावी भएको बताएका छन् ।
सिरहाको मिर्चैया नगरपालिका–७ लिकटोलमा शुक्रबार सामुदायिक भवन कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो टिप्पनी गरेका हुन् । उनले एउटा पार्टीका जनप्रतिनिधिले अर्को पार्टीका जनप्रतिनिधिसँग डाहा र घमण्डको व्यवहार गर्ने गरेका कारण चाहेर पनि गाउँसमाज विकास हुन नसकेको बताए ।
जनप्रतिनिधिहरुले चुनाव जितिसकेपछि समाजको विषयमा सोच्नुपर्नेमा पार्टीगत मानसिकताबाट माथि आउन नसक्नु दुःखद रहेको बताए । सिरहा ४ का प्रतिनिधिसभा सांसद रहेका नेता यादवले केन्द्रबाट आफूले गर्न खोज्दासमेत स्थानीय तहबाट असहयोग भएको गुनासो पोखे । स्थानीय जनप्रतिनिधिले ‘सबै मान्छे राजकिशोरकै भइहाल्छ’ कि भनेर विभिन्न बहानामा अल्झाएर काम हुन नदिएको बताए ।
नेता यादव मात्रै गफै दिएर ठग्ने र आफ्नो स्वार्थ पूर्ति गर्न समाज र जनताको भविष्यसँग खेलवाड गर्नेहरुलाई जनताले चिन्नुपर्ने समय आएको बताए । उनले अब जनता सचेत हुनुपर्ने बताउँदै ठग नेता तथा पार्टीलाई तह लगाएमात्र मधेश र समग्र मुलुकको सामाजिक एवं आर्थिक रूपान्तरण सम्भव रहेको तर्क गरे ।
जनताको बीचमा आएर जनतालाई हरेक दृष्टिकोणबाट खुशी पार्नसक्ने नेताको मात्रै अब गुञ्जायस रहेको पनि उनले बताए । विकास निर्माणका कामलाई उच्च प्राथमिकतामा राखेका नेता यादवले शुक्रबार मिर्चैया–७ स्थित लिकटोलमा सामुदायिक भवनको शिलान्यास गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…