कमला बचाउ अभियान अब 'राष्ट्रिय मिशन' : कान्छो मेयर बरबरिया
सबभन्दा पहिले आम नागरिकहरुमा कमला नदीको संरक्षण किन गर्नुपर्ने भन्ने बारे चेतना फैलाउन विभिन्न माध्यम चयन गर्नु जरुरी छ ।

२०७६ मंसिर १ आइतबार, बिहान ७:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुलुकै कान्छो मेयर एवम् कमला अभियानी उदय कुमार बरबरियाले कमला बचाउ अभियान अब राष्ट्रिय अभियानको रुपमा स्थापित हुने बताएका छन् ।
शनिबार कमला बचाउ अभियानलाई निरन्तरता दिँद धनुषाको कमला ब्यारेजमा गरिएको साप्ताहिक कार्यक्रमको दौरान शहिदनगर नगरपालिकाका मेयर एवम् कमला बचाउ अभियानी बरबरियाले सो कुरा बताएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा लवटोली स्थित रहेको कमला ब्यारेजमा अनुगमन नीरिक्षण सहित जलाधारको छेउछाउमा वडाध्यक्षको नेतृत्वमा गरिएको वृक्षारोपणको समेत अनुगमन नीरिक्षण गर्दै उनले कमला जलाधार संरक्षण अभियानलाई राष्ट्रियीकरण गर्ने प्रतिवद्धता जनाए ।
बागमति नदी सरसफाई अभियानकै रुपमा कमला बचाउ अभियानलाई राष्ट्रिय स्तरको पहिचानको लागि पहल थालिसकेको जनाउँदै मेयर बरबरियाले कमला नदीको ऐतिहासिक पहिचान र यसको कहरबाट सर्वसाधारणलाई दीर्घकालिन राहतको लागि पहल थालिएको बताए । कमला पूल नजिक रहेको स्वर्गद्धारीमा गरिएको बैठकबाट कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवको समिक्षा सहित अभियानलाई राष्ट्रियीकरण गर्न गर्नुपर्ने आगामी कार्ययोजनाको बारेमा समेत समिक्षा गरिएको थियो ।

कमला बचाउ अभियानका अभियानीहरु धनुषाको कमला ब्यारेजमा अनुगमन एवम् नीरिक्षण गर्दै | © NewsBureau Nepal
अभियानीको रुपमा अग्रसर हुँदा विभिन्न खाले टिकाटिप्पणी सहित निराधार आरोप प्रत्यारोप र चरित्र हत्याको प्रयास समेत हुने गरेकोले यसलाई बायपास गर्दै आफ्नो अभियानलाई निरन्तरताको लागि सबैसँग अपिल समेत मेयर बरबरियाले गरे । उनले भने, - "अभियान जिल्ला स्तरीय नभएर प्रदेश स्तरीय रुपमा खडा भईसकेको छ । कमला नदी बचे के हुन्छ र नबचे के हुन्छ भन्ने बारे आम नागरिकमा अहिले पनि सूचना र सन्देशको खाँचो देखिएको छ । सबभन्दा पहिले आम नागरिकहरुमा कमला नदीको संरक्षण किन गर्नुपर्ने भन्ने बारे चेतना फैलाउन विभिन्न माध्यम चयन गर्नु जरुरी छ ।"
कमला बचाउ अभियानका अध्यक्ष विक्रम यादवले कमला बचाउ अभियानको अभिप्रायबारे सर्वासधारणहरुमा जनचेतना फैलाउन सके अभियान झन बलियो हुने विश्वास व्यक्त गरे । अभियान सुरु सुरुमा केही व्यक्तिहरुलाई सहभागी गराएर स्वेच्छाले गरिएपनि अहिले सयौंको सँख्यामा आफूखुसी अभियानमा लागेको बताए । उनले भने, - "यो अभियान व्यक्तिगत वा राजनीतिक होईन, कमला नदी संरक्षण गर्न सके यसबाट हुने फाईदाको अनुमान लगाउन पनि गाह्रो हुन्छ ।"
साप्ताहिक कार्यक्रममा अभियानी एवम् युवा नेता महेश लाल यादव, अभियानका उपाध्यक्ष सुरेन्द्र यादव, सचिव विनोद महरा, अभियानीहरू राजकिशोर सहलैता, रूपेश विराजी, आशुतोष यादव र स्थानीय नागरिक समाज लगायतका उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…