सिरहा : प्रअले दलितलाई विद्यालयको अध्यक्ष स्वीकारेनन् !
अभिभावकले सर्वसम्मत चयन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलित भएको भन्दै प्रधानाध्यापकले नै अस्वीकार गरेका छन् ।

२०७६ भदौ २३ सोमबार, बेलुकी ७:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । संविधानले नै जातीय छुवाछुत र विभेदलाई बन्देज गरेको छ । तर, सिरहामा अभिभावकले सर्वसम्मत चयन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलित भएको भन्दै प्रधानाध्यापकले नै अस्वीकार गरेका छन् ।
लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छवारस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक तारिणीप्रसाद चौधरीले व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद सदायलाई अध्यक्ष स्विकार्न नमानेको अभिभावकहरूले बताएका छन् ।
अभिभावकहरूको भेलाले सदायलाई गत १७ मंसिरमा अध्यक्षमा चयन गरेको थियो। तर, अभिभावकले चुनेको अध्यक्षलाई प्रधानाध्यापकले अस्विकार गरेपछि १२ फागुनमा झडपकै स्थिति बनेको थियो ।
त्यसलगत्तै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि शिक्षा संयोजकसहितको उपस्थितिमा बसेको बैठकले समितिमा दुई सदस्य मनोनयन र्गयो, तर त्यसलाई पनि प्रधानाध्यापकले मानेनन् ।
आफू दलित भएकै कारण प्रधानाध्यापक चौधरीले १० महिनादेखि अध्यक्ष मान्न अस्वीकार गरेको अध्यक्ष सदायले बताए । विद्यालयमा अध्ययनरत एक सय ७७ विद्यार्थीमध्ये एक सय दुईजना दलित समुदायका छन् ।
समितिमा अध्यक्ष दलित चयन भएपछि प्रधानाध्यापक चौधरीले गाउँपालिकाबाट विद्यार्थीको पाठ्यपुस्तक, छात्रवृत्तिको रकमसमेत निकासा लिएका छैनन् । त्यसपछि मंसिर महिनादेखि प्रधानाध्यापक र अर्का एक शिक्षकको चैत महिनादेखि तलब रोक्का गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
गाउँपालिकाले सोध्यो स्पष्टीकरण तर प्रधानाध्यापकले टेरेनन्
१७ मंसिरमा समितिमा अर्जुन मण्डल, बविता दास र जलासी सदाय पनि मनोनित भएका थिए । समिति वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षक प्रतिनिधिसहित सात सदस्यीय बन्यो । समितिलाई पूर्णता दिन सात सदस्यले थप दुईजनालाई मनोनयन गर्नुपर्ने थियो । तर, प्रधानाध्यापकले समितिलाई पूर्णता दिन नमानेपछि स्थानीय दलित अभिभावकहरूले उनीविरुद्ध गाउँपालिकामा निवेदन दिए । त्यसपछि गाउँपालिकाले चौधरीलाई स्पष्टीकरण सोधेको अध्यक्ष रामबल्लभ साहले बताए ।
‘गाउँपालिकामा बोलाएर सोधपुछ गर्दा तीन दिनको समय मागे, तर त्यसवेला पनि उनले आफ्नो प्रतिबद्धता पूरा गरेनन्,’ साहले भने, ‘गाउँपालिकाबाट शिक्षा संयोजक र एक कर्मचारी खटाएर समितिलाई पूर्णता दिन बैठक राखिएको भए पनि प्रधानाध्यापक चौधरी नै आएनन् ।’ चौधरी अनुपस्थित भए पनि निमित्त प्रधानाध्यापकको उपस्थिति र शिक्षा संयोजक तथा गाउँपालिका कर्मचारीको रोहवरमा फागुनमा व्यवस्थापन समितिलाई पूर्णता दिइयो ।
तर, उनले चौधरीले यसलाई अस्वीकार गरेको गाउँपालिका अध्यक्ष साह बताउँछन् । त्यसपछि चौधरीले गाउँपालिकासँग समन्वय गर्नै छोडेको उनले बताए । यो समाचार नयाँ पत्रिकामा मनिलाल विश्वकर्माले लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…