बारा पर्साका हावाहुरी पीडितलाई घर हस्तान्तरण
जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत हावाहुरी प्रभावितका लागि बनेका ८ सय ६९ घर हस्तान्तरण भएको हो ।

२०७६ भदौ १८ बुधबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बारा र पर्सामा गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित परिवरका लागि बनाइएको घर हस्तान्तरण गरिएको छ ।
जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत हावाहुरी प्रभावितका लागि बनेका ८ सय ६९ घर हस्तान्तरण भएको हो । बारा र पर्साका स्थानीय तहका प्रमुखलाई बुधबार रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच नमुना घर हस्तान्तरण गरेका हुन् ।
गएको वर्ष चैत १७ गते साँझ आएको चक्रवातबाट २७ जनाको मृत्यु हुनुका साथै अरबौँ मूल्य बराबरको धनमाल क्षति भएको थियो । सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नम्बर बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो ।
मूल्य अभिवृद्धिकरसहित प्रतिघर चार लाख ८४ हजार ८ सय अठासी रुपैयाँ लागत रहेको त्यो आवास निर्माणका लागि सरकारले ८४ करोड ६८ लाख ७६ हजार रुपैयाँ उपलब्ध गराएको थियो । आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।
उपप्रधानमन्त्री पोखरेलले समयमै घर निर्माण गरेकोमा सेनालाई धन्यवाद दिए । हावाहुरी पीडितका लागि निर्माण गर्ने घरको गत २१ चैतमा शिलन्यास भएको थियो ।
घर हस्तान्तरण कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका सरिक थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…