मधेशका नदी नियन्त्रणमा सहयोग गर्न मुख्यमन्त्री राउतले मागे यस्तो सहयोग !
दीर्घकालिन योजना अनुरुप कार्य नभए मधेश मरुभूमिमा परिणत हुने भएकाले संघ सरकारले गम्भीरता पूर्वक सोच्नुपर्ने आवश्यक रहेको औल्याए ।

२०७६ साउन १३ सोमबार, दिउँसो ४:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा भीषण वर्षा र बाढीका कारण भएको क्षति बारे जानकारीसहित सहयोग जुटाउने उद्देश्यले काडमाण्डौं पुगेको मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सर्वदलिय टोली आज उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनसँग छलफल गरेका छन् ।
मन्त्रालयको सभाकक्षमा भएको छलफलमा मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षति भयावह रहेकोले तत्कालिन र दीर्घकालिन योजना बनाएर तटबन्ध मर्मत तथा निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् । कटानका कारण नदीको पानी सोझै गाँउमा पसिरहेकोले त्यस्ता ठाँउहरुमा तत्काल मर्मतको काम गर्नुपर्ने धारणा राखे ।
मुख्यमन्त्री राउतले मर्मत कार्यका लागि सहयोग गर्न संघीय मन्त्री पुनसँग आग्रह गर्दै दीर्घकालिन रुपमा चुरे संरक्षण, चुरेमा भइरहेको अनियन्त्रित बसोवासको नियन्त्रण, नदीहरुमा पक्की तटबन्धको निर्माण सहितको योजना बनाउनुपर्ने बताए । उनले दीर्घकालिन योजना अनुरुप कार्य नभए मधेश मरुभूमिमा परिणत हुने भएकाले संघीय मन्त्रालयलाई तत्काल यस विषयमा गम्भीरता पूर्वक सोच्नुपर्ने आवश्यक रहेको समेत औल्याए ।
छलफल उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले आवश्यक रकम अर्थमन्त्रालयसँग माग गरेर तत्काल गर्न सकिने कामहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि मुख्यमन्त्री राउत प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ लगायतका सँग भेटघाट गरी छलफल गरेका थिए ।
छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिवका साथै प्राविधिक टोलीसमेत सरिक थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…