मिर्चैयाको टाईम्स स्कूल १३औं वर्षमा प्रवेश, शिक्षा अधिकारीले भने, 'क्वालिटी असाध्यै राम्रो'
टाईम्स स्कूलले जिल्ला भरीमै गुणस्तर शिक्षा दिने विद्यालयको नमूनाको रुपमा देखिएको भन्दै प्रशँसा गरे ।

२०७६ बैशाख ५ बिहीबार, बेलुकी ७:४२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको शिक्षा क्षेत्रमा फड्को मार्दै अगाडि बढिरहेका मिर्चैयाको टाईम्स स्कूलले १२ वर्ष पार गरी १३औं वर्षमा प्रवेश गरेको छ । पछिल्लो समय यस क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा चिनिएको टाईम्स स्कूलले आफ्नो १३औं वार्षिकोत्सव बिहिवार भव्य कार्यक्रम गरेर मनाएको हो ।
स्थापनाकालको १३औं वर्षमा विद्यालयको प्राँगनमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रुपमा सहभागी तत्कालिन जिल्ला शिक्षा अधिकारी एवँ हालको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख दोलराज पाण्डेले टाईम्स स्कूलले जिल्ला भरीमै गुणस्तर शिक्षा दिने विद्यालयको नमूनाको रुपमा देखिएको भन्दै प्रशँसा गरेका छन् ।

टाईम्स स्कूल १३ वर्षदेखि बालबालिकामा ज्ञानको दिव्य ज्योति छर्दै देशका भावी तेजस्वी विद्यार्थी उत्पादन गर्ने केन्द्रको रुपमा स्थापित भएको भन्दै पाण्डले खुलेर प्रशँसा गरे । अहिलेको समयमा सँस्थागत विद्यालयहरु व्यापारिकरण तिर मोडिरँहदा टाईम्स स्कूलले त्यसको अन्त्यको लागि समेत ठूलो भूमिका खेलेको बताए ।
पाण्डेले देशको भविष्यका निर्माताहरु जन्मिने उद्गम स्थल विद्यालय नै भएको बताउँदै यसमा सबैलाई जोड दिन विशेष आग्रह गरे ।
गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई विशेष प्राथमिकतामा राखी अवस्था हेरेर छात्रवृत्तिमा समेत गुनस्तरीय शिक्षा छर्दै उदाहरणीय काम गरेको भन्दै उनले विद्यालय परिवारलाई धन्यवाद तथा बधाई ज्ञापन गरे । उनले कार्यक्रमलाई सम्बोधन भने, ‘तपाईहरुले देशका भविष्यहरुलाई क्वालिटी शिक्षा दिइरहनुभएको छ, हामीले अनुभूति गरेका छौं, असाध्यै राम्रो र उदाहरणीय काम गरिरहनुभएको छ, यसलाई जीवन्त राखिराख्नुस् ।’
उनले परीक्षाका बखत मात्र पत्रकारहरुले समाचार लेख्ने गरेको टिप्पनी गर्दै बाँकी समयमा पनि अनुगमन गर्न तथा सुझाव स्वरुप समाचार सम्प्रेसन गर्न आग्रह गरे । उनले शिक्षाको स्तर बढाउन सबैको सहकार्य अपरिहार्य रहेको औल्याए ।
पाण्डेले देशको भविष्यका निर्माताहरु जन्मिने उद्गम स्थल विद्यालय नै भएको बताउँदै यसमा सबैलाई जोड दिन विशेष आग्रह गरे ।
सोही क्रममा विद्यालयको सँस्थापक समितिका सदस्य प्रभात महतोले शिक्षा विद्यालयको प्राण रहेकाले आगामी दिनमा अझ बढी गुणस्तरीयता बढाउने प्रतिवद्धता जनाए । क्वालिटी एजुकेसनको लक्ष्यसहित अगाडि बढेको बताउँदै उनले भने, ‘शिक्षा देशको मेरुदण्ड हो, यसमा कुनै किसिमको मिसावट हुनुहुँदैन, हामी क्वालिटी एजुकेसन दिइरहेका छौं, अझ प्रभावकारी बनाउँछौं ।’

विद्यार्थीको जडो बलियो बनाउन बच्चाहरुलाई बढी प्राथमिकतामा राखेर अघि बढेको जनाए । उनले शिक्षक स्टाफको अहिलेसम्मको जीवनवृत र योगदानका विषयमा समेत सँक्षिप्त प्रकाश पारेका थिए ।
त्यस्तै, सोही क्रममा विद्यालयमा अध्यापनरत नेपाली शिक्षक केशव छवि पौडेलले भयावह विद्यार्थी बाहिर पलायन रोक्नुको आवश्यकता औल्याउँदै उनले यसका लागि सरोकारवाला निकाय र अभिभावकको सहकार्य आवश्यक रहेको सुझाव दिए । उनले यसमा गम्भीर नभए यस क्षेत्रको शिक्षा स्तर खस्किने र व्यापारिक भविष्य समेत चौपट हुने भन्दै सबैलाई सचेत गराए ।
बि.स. २०६४ बैशाख ५ गते स्थापना भएको टाईम्स स्कूल प्रत्येक वर्ष बैशाख ५ गतेलाई वार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ । हाल १३ सयबढी विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयले शिक्षा नियमावलीमा तोकिएको १० प्रतिशतभन्दा पनि बढी विद्यार्थीलाई छात्रवृत्तिमै कक्षा १२ सम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

आज सम्पन्न वार्षिकोत्सव समारोहमै कक्षा १ देखि १० सम्मका यसवर्षका प्रथम, दोश्रो र तेश्रो विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने गत वर्षको एसईई परीक्षामा विद्यालयबाट सबैभन्दा बढी अँक प्राप्त गरेका विद्यार्थीलाई आर्थिक रकमसहित सम्मान गरिएको थियो । यसवर्षका सम्पूर्ण कक्षाका प्रथम, दोश्रो र तेश्रो विद्यार्थीलाई छात्रवृत्तिको घोषणा समेत गरिएको छ । प्रथमलाई असारसम्म १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र तेश्रोलाई ५० प्रतिशत छात्रवृत्ति दिइने जनाइएको छ ।
वार्षिकोत्सव समारोहलाई सँस्कृति र पहिचानले जोडिएको साँस्कृतिक नाचगानले चारचाँद लगाएको थियो ।
विद्यालयको निमन्त्रणा स्वीकार गरेर सहभागी अभिभावक, शुभचिन्तक, पत्रकार, विभिन्न शैक्षिक सँस्थाका प्रतिनिधि तथा शिक्षक स्टाफ र विद्यालयका छात्रछात्राको बाक्लो उपस्थितिले कार्यक्रम शोभामान बन्न पुगेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…