सिरहामा शरिर छोएको निहुँमा डोम उपर बर्बरता, घटना दबाउन प्रहरी नै सक्रिय !
प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिइरहेको छ ।

२०७५ फागुन ८ बुधबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

सिरहा, ८ फागुन । सिरहामा डोम आमाछोरी उपर कुटपिट भएको घटना प्रहरीले नै दबाउन खोजेको छ । लहान नगरपालिका १८ की ललिता मरिकका ८ वर्षीय छोरा शुशिल मरिकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा ललिता र उनकी छोरी अमिरका मरिक उपर कुटपिट भएको हो ।
छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता र उनकी छोरीलाई घरमै गएर कुटपिट गरेका हुन् । प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिइरहेको छ ।
अल्पसंख्यक, दलित उपरको ज्यादतीलाई सरोकारबाला निकायले समयमै निराकरण गरी दोषीलाई कानुनको दायरामा ल्याउन नसकेका कारण यस्ता घटनाहरु अझ घट्न सकेको छैन ।
गत फागुन ३ गते बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए । अशोक अयोधीका नाति हुन् ।
फागुन ३ गते नै उनीहरुले लहान प्रहरीमा उनुरी दिएपनि प्रहरीले मिलापत्र गर्न दबाब दिएको ललिताका श्रीमान् दुःखी मरिकले सुनाए । प्रहरीले दुईपटकसम्म छलफल आह्वान गरेको, तर पीडकको उपस्थितिविना नै मिलापत्र गर्न दबाब दिएको उनको गुनासो छ । दुवै छलफल असफल भएपछि घटना सार्वजनिक भएको हो ।
कुटपिटबाट आमाछोरी ललिता मरिक र अमिरका मरिक घाइते भएका छन् । ललिताको टाउको, पिठ्युँ, ढाड र कम्मरमा चोट लागेको छ भने अमिरकाको देब्रे हातको दुईवटा औँला फुटेको छ ।
अल्पसंख्यक, दलित उपरको ज्यादतीलाई सरोकारबाला निकायले समयमै निराकरण गरी दोषीलाई कानुनको दायरामा ल्याउन नसकेका कारण यस्ता घटनाहरु अझ घट्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…