हड्पिएका दलित बस्तीको प्रश्न : हामी गरिबका लागि न्याय मरेकै हो ?
जग्गा धनीलाई पैसा तिरेर झण्डै करिब ९० वर्षदेखि बसोबास गर्दै आएका दलित बस्ती कब्जा

२०७५ माघ २ बुधबार, बेलुकी ५:५५ बजे२ मिनेट पढाइ

सिरहा, २ माघ । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाई हड्पिएका बस्तीका दलितहरुको बिचल्ली भएको छ । सिँगो बस्ती नै हड्पेका कमल भन्ने भरत यादवले बस्ती खाली नै गर्न धम्की र त्रास देखाउन थालेपछि उनीहरुको बिचल्ली भएको हो ।
पीडितहरुले सम्बन्धित निकायहरुसँग लगातार गुहार लगाएपनि हालसम्म कहिँकतैबाट कडा कदम चालिएको छैन । निरन्तर गुहार लगाइरहेपनि कुनै चाँसो नदेखिएपछि आफूहरु गरिब, निमुखा र त्यसमा पनि दलित भएकै कारण हालसम्म पहल हुन नसकेको उनीहरुले दुखेसो पोखेका छन् ।
जग्गा धनीलाई पैसा तिरेर झण्डै करिब ९० वर्ष (३ पुस्ता) देखि बसोबास गर्दै आएका मिर्चैया ९ रमपुरा महरा टोलका सिँगो दलित बस्ती नै स्थानीय कमल भन्ने भरत यादवले कब्जा गरेका छन् । १५ बढी घरपरिवार बसोबास गर्दै आएका दलित बस्तीका ७ कठ्ठा १० धुर जमिन किर्ते (नक्कली) कागजात बनाएर हड्पेका हुन् ।
बस्तीका दलितहरुलाई अहिले रकम तिरेर नामसारी गराउन र रकम नतिरे बस्ती नै खाली गर्न दबाब दिँदै आइरहेको छ । उनीहरुले २०२४ सालमा नै जग्गाको पैसा तिरेर जग्गा किनेपनि आजभोलि गर्दागर्दै जग्गा धनीको मृत्यू भएपछि जग्गा पास भएको छैन ।
पछि उनीहरु कानुन सम्मत जग्गा नामसारी प्रक्रियामा जान खोजेपनि स्थानीय कमल भन्ने भरत यादवले किर्ते गरी २०७० साल ६ महिना १० गतेमा आफ्नो नाममा रजिष्ट्रेशन पास गराई सकेका छन् । जग्गा धनीको करिब ४० वर्षअघि नै मृत्यू भइसकेको भएपनि मात्रै २०७० सालमा सिधै जग्गा धनीको नामबाट कमल भन्ने भरत यादवको नाममा जग्गा पास भएको हो । अहिले उक्त जग्गा उनले आफ्नो फुपूको छोरा रामपरिक्षण यादवको नाममा पास गरिदिएका छन् ।
२०७५ जेठमा भरत यादवको नामबाट रामपरिक्षण यादवको नाममा पास भएको उक्त जग्गाको सिफारिस झुक्किएर दिन पुगेको वडा ९ का वडाध्यक्ष मोहन पोखरेलले स्विकारे । मिलेमतो गरेर सिफारिस दिएको हुन सक्ने पीडितहरुको आरोप छ ।
यस प्रकरणका अन्य समाचारहरु पनि पढ्नुहोस् ।
किर्ते कागजात बनाई सिँगो दलित बस्ती नै कब्जा, खाली गर्न दबाब !
हड्पिएको बस्तीका दलितलाई आश्वासन मात्र, खै त कारवाही ?
हड्पिएको दलित बस्तीका लागि अझ भएन कुनै पहल, दलित परिवार बिचल्लीमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…