डोमको घरमा डोजर चलाइयो, सारा परिवार बिचल्लीमा
स्थानीय धनिकले गुण्डाशैलीमा डोजर चलाएर घर भत्काई दिएपछि डोम परिवार बिचल्लीमा परेका छन् ।

२०७५ असोज १७ बुधबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका ३ चोहर्वामा एकजना स्थानीय धनिकले डोम समुदायको घर भत्काई दिएका छन् । वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका डोम समुदायका घर स्थानीय भरतराज शर्माले डोजर नै चलाएर भत्काई दिएका हुन् ।
सडक छेउमा रहेको महँगो ऐलानी आफ्नो दावी गर्दै मुद्दा लडिरहेका शर्माले त्यसको छिनोफानो नहुँदै डोजर लगाएर घरहरु भत्काई दिएपछि डोम समुदाय बिचल्लीमा परेका छन् । भत्काईका दुई घर परिवारमा जम्मा १८ जना सदस्य छन् ।
शर्माले डोम परिवारलाई वर्षौंदेखि बस्दै आएको जग्गा खाली गर्न पटक पटक दबाब दिँदै आएका थिए । उनीहरु नमानेपछि डोजर लगाएर भत्काई दिएका हुन् । शर्माको डोम बस्तीको पछाडि एक कठ्ठा ११ धुर जग्गा छ ।
ऐलानी जग्गामा बस्दा पनि हामीलाई दुःख दिने गरेको पीडित डोम परिवार बताउँछन् । काम गर्न बाहिर गएको मौका छोपी एक-डेढसय बढी मान्छे ल्याएर गुण्डाशैलीमा घर भत्काई दिएको उनीहरूले बताए ।
घर भत्काइदिँदा उनीहरू खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । प्रहरीकै संरक्षण र गुण्डाहरुको उपस्थितिमा घर भत्काई दिएको उनीहरू सुनाउँछन् । यहाँसम्मकी प्रहरी कहाँ न्याय माग्न जादा उजुरी नै दर्ता गर्न नमानेको उनीहरूले बताए । घर भत्काउने बेलामा घरको खाद्यान्न लगायतका सामानहरु जताततै फालिदिएको उनीहरुले बताए ।
यता, शर्माले भने आफ्नो जग्गामै डोमको घर भएको भनेर अदालतबाट घर खाली गराउने आदेश दिएको बताए । स्थानीय गाउँलेले पनि डोम समुदाय ऐलानी जग्गामै बसोबास गर्दै आएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…