आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारद्धारा महिनावारी सरसफाई अभियान, सहभागिताको अपिल
कार्यक्रममा सहभागी भई सामाजिक रुपान्तरणको अभियानमा साथ दिन महिला वर्गमा आयोजकले विशेष आग्रह समेत गरेको छ ।

२०७५ असोज ५ शुक्रबार, दिउँसो १:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले मासिक धर्म (महिनावारी) सरसफाई अभियान सञ्चालन गर्ने भएको छ । क्लबले मासिक धर्म सरसफाई अभियान अन्तर्गत आउँदो असोज २९ गते गोलबजारमा पहिलो चरणको कार्यक्रम गर्ने भएको हो ।
पछिल्लो समय महिलाहरुमा देखिएका समस्यालाई दृष्टिगत गर्दै सो अभियान सञ्चालन गर्न लागेको क्लबले जनाएको छ । केहिसमय अघि सिरहामा भएको एक शिविरको सर्वेक्षणबाट धेरै महिला पाठेघरको समस्याले पीडित देखिएपछि क्लबले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याउन लागेको आयोजक समितिका सदस्य राम कुमार यादवले जानकारी दिनुभयो ।
महिनावारी एक अपरिहार्य प्राकृतिक प्रकृया हो जुन महिलामा मात्र हुने गर्दछ । यो महिलाको लागि अभिशाप नभई सृष्टि सञ्चालनको लागि नै वरदान हो । जुन सबैले आत्मसात गर्नै पर्छ । अहिले २१ औं शताब्दीको आधुनिक युगमा समेत महिनावारीलाई नकारात्मक नजरले हेरिनु शिक्षा जगतको लागि आफैमा एक चुनौतीको विषय हो । त्यसैगरी, महिनावारीको अवधिमा सरसफाईमा जानअन्जानमा हुन आउने त्रुटिले निम्तिने छोटो अवधि तथा लामो अवधिका असरहरु स्वास्थ जगतको लागि चुनौतीको विषय बन्दै गएको छ ।

यी यावत विषयहरुलाई दृष्टिगत गर्दै क्लबले मासिक धर्म (महिनावारी) सरसफाई अभियानका अभियन्ता प्रोमिशा मिश्राको विषेश उपस्थितिमा सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रममा महिनावारी शिक्षाको बारेमा विशेष किसिमको बहस गरिने आयोजकले जनाएको छ । कार्यक्रम पूर्णतः ईन्डोर रहनेछ । कार्यक्रममा सहभागी हुनका लागि अनिवार्य रुपमा नाम दर्ता गराउनु पर्नेछ । दर्ता भने निःशुल्क रहेको छ ।
नाम दर्ता गराउनको लागि आयोजक समितिका सदस्य रामकुमार यादवको सम्पर्क नम्बर ९८१९९३९३०२, प्रशान्त यादवको ९८०५९४२०८७, अमन लामाको ९८११७८६१३०, सफल लामाको ९८२५७३५५८४ र रामपुकार यादवको सम्पर्क नम्बर ९८१६७०६९९७ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

पहिलो चरणको कार्यक्रममा सहभागी महिलाहरुलाई प्याड वितरण गरिनेछ भने चरणबद्ध रुपमा लोमडी प्याड बनाउन प्रशिक्षण पनि दिइने जनाइएको छ । कार्यक्रममा माध्यमिक तहका छात्राहरुलाई विशेष सहभागी गराउने आयोजकको योजना रहेको छ ।

कार्यक्रममा सहभागी भई सामाजिक रुपान्तरणको अभियानमा साथ दिन महिला वर्गमा आयोजकले विशेष आग्रह समेत गरेको छ । कार्यक्रमलाई निरन्तरता दिइरहने आयोजकले जनाएको छ । आयोजकले यस कार्यक्रमबाट त्यस भेकका धेरै महिलाहरु लाभान्वित हुने विश्वास लिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…