११ औँ तहको दरबन्दीमा सातौँ तहका कर्मचारी, मधेश स्वास्थ्यका संवेदनशील निकाय महिनौँदेखि निमित्तको भरमा

२०८३ असोज १२ सोमबार
बेलुकी ७:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महत्वपूर्ण निकायहरू दरबन्दीअनुसारका प्रमुखविहीन बनेका छन् । ११ औँ तहका कर्मचारी प्रमुख रहने व्यवस्था भएका प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा सातौँ तहका कर्मचारीलाई महिनौँदेखि निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विगत करिब तीन महिनादेखि सातौँ तहका ल्याब टेक्निसियन गुणानन्दप्रसाद साह निर्देशकको जिम्मेवारीमा छन् । उक्त निकायमा ११ औँ तहको दरबन्दी रहेको बताइएको छ ।

उपलब्ध विवरणअनुसार १० औँ र ११ औँ तहका कर्मचारीलाई जिल्लातर्फ खटाइएको अवस्थामा सातौँ तहका कर्मचारीलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व दिइएको हो ।

यस्तै, नवौँ तहका सिनियर ल्याब समूहका कर्मचारी कुमार मृत्यूँजय प्रसादलाई सर्लाहीस्थित ल्याबमा काजमा खटाइएको छ । सर्लाहीको ल्याबमा आठौँ तहको दरबन्दी रहेको अवस्थामा नवौँ तहका कर्मचारीलाई त्यहाँ खटाइएको दाबी गरिएको छ ।

मृत्युञ्जयप्रसादले आफ्नो काज फिर्ता गरिदिन पटक–पटक निवेदन दिएको भए पनि हालसम्म काज फिर्ता नभएको स्रोतको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारीको खटनपटनमा समेत तह र दरबन्दीअनुसारको व्यवस्थापन हुन नसकेको आरोप छ । सम्बन्धित कर्मचारीका अनुसार दरबन्दीअनुसार कर्मचारी खटाउनुपर्ने वा सो पदमा उपलब्ध कर्मचारीमध्ये वरिष्ठलाई जिम्मेवारी दिनुपर्ने अवस्था हुँदाहुँदै कनिष्ठ तहका कर्मचारीलाई संवेदनशील निकायको नेतृत्व दिइएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको अवस्था पनि उस्तै देखिएको छ । उक्त केन्द्रमा ११ औँ तहको कर्मचारी निर्देशक रहने व्यवस्था रहेको बताइएको छ । तर ११ औँ तहका जनरल हेल्थ समूहका डा. सुनिल कुशवाहालाई सिरहा अस्पतालमा काजमा खटाइएपछि आपूर्ति केन्द्रमा सातौँ तहका फार्मेसिस्टलाई करिब तीन महिनादेखि निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ ।

मधेश प्रदेशमा स्वास्थ्य सेवातर्फ ११ औँ तहका चार जना तथा नवौँ र १० औँ तहका गरी करिब २० जना कर्मचारी कार्यरत रहेको अवस्थामा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य आपूर्ति केन्द्रजस्ता संवेदनशील निकायमा सातौँ तहका कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको दाबी गरिएको छ । 

जानकारी अनुसार, अस्पतालमा १०औँ र ११औँ तहका कर्मचारी नै नरहेको बताईएको छ । ८औँ तहका ओमराज यादवलाई निमित्त बनाएर राखेको जनाइएको छ । यादवलाई हटाएर एक ७औँ तहका कर्मचारीलाई राखेको जनाईएको छ । 

यस्तै, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक पद पनि एक महिनाभन्दा बढी समयदेखि रिक्त रहेको बताइएको छ । उक्त पदमा समेत निमित्त प्रमुखको भरमा काम सञ्चालन भइरहेको छ ।

दरबन्दीअनुसार वरिष्ठ कर्मचारीलाई जिम्मेवारी नदिई कनिष्ठ तहका कर्मचारीलाई महत्वपूर्ण निकायको नेतृत्व दिइएको विषयमा स्वास्थ्य मन्त्रालयको प्रशासनिक निर्णयमाथि प्रश्न उठेको छ ।

यस विषयमा मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहको भूमिकामाथि समेत प्रश्न उठाइएको छ । कर्मचारी व्यवस्थापनमा राजनीतिक वा प्रशासनिक हस्तक्षेप तथा ‘सेटिङ’ भएको आरोपसमेत लगाइएको छ । यद्यपि त्यस्तो आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

स्वास्थ्य क्षेत्रका संवेदनशील निकायमा लामो समयसम्म निमित्तको भरमा काम सञ्चालन हुँदा प्रशासनिक निर्णय, आर्थिक व्यवस्थापन, खरिद तथा ठेक्कापट्टालगायतका विषयमा प्रभाव पर्न सक्ने भन्दै कर्मचारी वृत्तमा समेत असन्तुष्टि देखिएको छ ।

दरबन्दीअनुसारका कर्मचारी किन खटाइएनन्, वरिष्ठ कर्मचारीलाई जिम्मेवारी नदिई कनिष्ठलाई निमित्त बनाउनुको कानुनी आधार के हो र काज व्यवस्थापनको निर्णय कसरी गरिएको हो भन्ने प्रश्न अब मधेश प्रदेश सरकारसँग जोडिएको छ ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

महिला एसिया कप जितेपछि भारतले मोहसिन नक्वीबाट ट्रफी लिन मानेन

  • २०८३ असोज १२ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय महिला क्रिकेट टोलीले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कपको उपाधि जिते पनि उपाधिको ट्रफी भने एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नक्वीबाट ग्रहण

पूरा पढ्नुहोस्

Bureau Menus