न्यूज ब्यूरो, सिरहा । जल तथा मौसम विज्ञान विभागले केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका प्रमुख नदीहरूको स्थलगत निरीक्षण गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सम्मिलित टोलीले सिरहा–धनुषा जोड्ने कमला नदी र सिरहा–सप्तरी जोड्ने लहानस्थित बलान नदीको निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा दुवै नदीको अवस्था हाल सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । उनका अनुसार कमला नदीमा बुधबार पानीको बहाव केही बढेको देखिए पनि अहिले अवस्था सामान्य रहेको छ ।
त्यस्तै, लहानस्थित बलान नदीमा पनि पानीको बहाव बढेको भए पनि हालसम्म जोखिमपूर्ण अवस्था नरहेको उनले बताए ।
बरालका अनुसार बलान नदीमा पानीको बहाव थप बढेमा लहान नगरपालिका–५ प्रभावित हुनसक्ने भएकाले स्थानीय सरकारसँग समन्वय गरी सम्भावित क्षति न्यूनीकरणका उपायबारे छलफल भइरहेको छ ।
कमला नदीमा पानीको बहाव बढेमा सिरहा र धनुषातर्फका केही बस्ती तथा वडा जोखिममा पर्न सक्ने प्रशासनको आकलन छ । सिरहा नगरपालिका–६ पूर्णरूपमा प्रभावित हुनसक्ने तथा आसपासका केही वडा आंशिक जोखिममा पर्न सक्ने जनाइएको छ ।
यस्तै, कल्याणपुर नगरपालिकाका चिकना, भोक्राहा लगायतका क्षेत्रसमेत जोखिममा पर्न सक्ने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्नसमेत प्रशासनले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले पनि सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । असोज ८ गतेदेखि ११ गतेसम्म देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका हुन् ।
यसैबीच, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेलले पनि सामाजिक सञ्जालमार्फत नगरवासीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा भएको निरीक्षण टोलीमा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठक, सशस्त्र प्रहरी बलका एसपी सुमनजंग थापा, नेपाली सेनाका कर्णेल तथा राष्ट्रिय अनुसन्धान विभागका एसपी सुरेन्द्र कोइरालालगायत सुरक्षाकर्मी सहभागी थिए ।
सम्पादकीयः एउटा शब्दको भूल, समाजमा ठूलो असर, संयमित बनौँ
- २०८३ असोज ९ शुक्रबार
पत्रकारिताको पहिलो धर्म सत्य हो । सत्यको खोजी, तथ्यको पुष्टि र जिम्मेवार प्रस्तुति पत्रकारिताका आधारभूत मान्यता हुन् । तर कहिलेकाहीँ हतार, अपूर्ण सूचना वा स्रोतको भनाइमा निर्भर हुँदा समाचारमा त्रुटि
पूरा पढ्नुहोस्





