जनकपुरसँग जोडिँदै अयोध्या, योगीले भने– ‘रोटी–बेटीको सम्बन्ध अब रेलबाट थप मजबुत’
अब रेल सेवाको सुरुवातसँगै दुवै धार्मिक नगरीबीच तीर्थयात्रा र आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।

२०८३ मंसिर ७ सोमबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अयोध्या–जनकपुरधाम रेल सेवाको ऐतिहासिक उद्घाटन समारोहमा सहभागी हुन अयोध्या पुगेका छन् । उनले भगवान् श्रीरामको नगरी अयोध्या र माता जानकीको जन्मभूमि जनकपुरधामबीच रेल सेवा सुरु हुनुलाई अवध र मिथिलाको सदियौँ पुरानो सम्बन्धमा नयाँ स्वर्णिम अध्यायका रूपमा व्याख्या गरेका छन् ।
मुख्यमन्त्री योगीले सामाजिक सञ्जालमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा आज दुवै धार्मिक नगरीलाई जोड्ने प्रत्यक्ष रेल सेवाको शुभारम्भ हुन लागेको उल्लेख गरेका छन् ।
उनले अवध र मिथिलाबीचको आध्यात्मिक, सांस्कृतिक तथा ‘रोटी–बेटी’ सम्बन्ध अब आधुनिक रेल सम्पर्कबाट थप सुदृढ हुने बताएका छन् ।
‘त्रेतायुगका स्मृतिलाई जीवन्त बनाउने यस पावन अवसरको साक्षी बन्न अयोध्याधाममा उपस्थित हुने सौभाग्य प्राप्त भएको छ,’ योगीले आफ्नो सन्देशमा भनेका छन् ।
उनका अनुसार यस रेल सेवाले नेपाल र भारतका करोडौँ श्रद्धालुको तीर्थयात्रा सहज बनाउनुका साथै धार्मिक पर्यटन, सांस्कृतिक एकता र क्षेत्रीय समृद्धिलाई नयाँ गति दिनेछ ।
मुख्यमन्त्री योगीले उक्त पहललाई प्रधानमन्त्री मोदीको ‘विरासत भी, विकास भी’ र ‘नेबरहुड फर्स्ट’ अवधारणाको जीवन्त उदाहरणसमेत बताएका छन् ।
जनकपुरधाम र अयोध्याबीच धार्मिक सम्बन्ध विशेष रूपमा जोडिएको छ । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाहसँग जोडिएको मिथिला र अवधको सम्बन्धलाई विवाह पञ्चमीमा अयोध्याबाट जनकपुरधाम आउने जन्तीले आज पनि जीवन्त बनाउँदै आएको छ ।
अब रेल सेवाको सुरुवातसँगै दुवै धार्मिक नगरीबीच तीर्थयात्रा र आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।
योगीको सन्देशले पनि यो रेल सेवा केवल यातायातको साधन मात्र नभई नेपाल–भारतबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आधुनिक सम्पर्कमार्फत जोड्ने महत्वपूर्ण पहल भएको संकेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…