आज जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन हुँदै, मधेशवासी उत्साहित, चल्ने कहिलेदेखि ?
अयोध्याबाट जनकपुरधाम आउने तीर्थयात्री र जनकपुरधामबाट अयोध्या दर्शन गर्न जाने

२०८३ मंसिर ७ सोमबार, बिहान ८:४९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्यालाई सिधा रेल सेवामार्फत जोड्ने ऐतिहासिक पहल आजदेखि औपचारिक रूपमा अघि बढ्दैछ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज सोमबार संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत रेल सेवाको संयुक्त उद्घाटन गर्नेछन् । भारतीय रेल्वेले सञ्चालन गर्ने उक्त साप्ताहिक रेल सेवाको नाम ‘सरयू–कमला एक्सप्रेस’ राखिएको छ ।
रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धसँग जोडिएका जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने भएपछि मधेश प्रदेशसहित मिथिलाञ्चलका बासिन्दामा उत्साह देखिएको छ । माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनुलाई धार्मिक पर्यटन र दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार जनकपुरधामदेखि अयोध्यासम्मको रेलमार्गको दूरी करिब ६०४ किलोमिटर हुनेछ । यात्राका क्रममा यात्रुले बीचमा रेल परिवर्तन गर्नुपर्ने छैन । रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ ।
प्रारम्भिक चरणमा सातामा एक दिन सञ्चालन हुने रेलमा १७ वटा आधुनिक एलएचबी कोच रहनेछन् । नियमित व्यावसायिक सेवा भने आगामी नोभेम्बर २८ अर्थात् मंसिर १२ गतेदेखि सुरु गर्ने तयारी छ ।
निर्धारित समयतालिकाअनुसार रेल प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने आइतबार बिहान ८:१० बजे अयोध्या पुग्नेछ । त्यस्तै, अयोध्याबाट सोमबार साँझ ५:५० बजे फर्किने रेल मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ । यी समय नेपाली समयअनुसार हुन् ।
रेल सेवा सञ्चालनले जनकपुरधामको धार्मिक पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार तथा सीमापार आवागमनमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । अयोध्याबाट जनकपुरधाम आउने तीर्थयात्री र जनकपुरधामबाट अयोध्या दर्शन गर्न जाने श्रद्धालुका लागि समेत यसले सहज आवागमनको विकल्प उपलब्ध गराउनेछ ।
यसैबीच, जनकपुरधामका पर्यटन तथा होटल व्यवसायीहरूले रेल सेवाबाट आउने तीर्थयात्रीको स्वागतका लागि तयारी गरिरहेका छन् । रेल सेवाको व्यावसायिक सञ्चालनसँगै जनकपुरधामलाई अन्तरदेशीय धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…