धनुषाको चारै निर्वाचन क्षेत्रबाट एमाले पार्टी जित्छः महासेठ
महासेठले छानबिन र कारबाहीको माग गर्दै सिंहदरबार जलाउने, कैदी भगाउने र हतियार लुट्ने घटनाका भिडियो प्रमाण रहेको दाबी गरे। छठ पर्वका क्रममा रानीपोखरीमा मधेसी समुदायलाई पूजा गर्न नदिएको घटनाको प्रसंग उठाउँदै उनले त्यसबेला प्रधानमन्त्रीलाई ‘मधेशको छोरा’ भन्न नमिल्ने टिप्पणी गरे।

२०८२ पुस २० आइतबार, बिहान ७:३२ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । एमालेका केन्द्रीय उपमहासचिव रघुवीर महासेठले धनुषाको चारै निर्वाचन क्षेत्रबाट नेकपा एमाले पार्टी जित्ने दाबी गरेका छन् ।
उनले आफू ४ दिनको लागि कार्यावाहक प्रधानमन्त्री बनेको भन्दै एमाले मधेश विरोधी नरहेको बताए । उनले समाजिक सँजालमा एमाले मधेश र मधेशी विरोधी रहेको प्रोपागाण्डा फैलाएको आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आयोजनामा पार्टीको १८औँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सम्मान कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री महासेठले धनुषा निर्वाचन क्षेत्रको सबै क्षेत्रबाट जित्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव महासेठले देश गम्भीर संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन्। गणतन्त्र संस्थागत भइसकेको ठानिए पनि प्रक्रियावादी गणतन्त्रविरोधी तथा केही विदेशी शक्तिहरूले गणतन्त्र समाप्त गर्ने षड्यन्त्र गरिरहेको उनको आरोप थियो। उनले ‘जेन जी’ को नाममा भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएका गतिविधि योजनाबद्ध रहेको दाबी गर्दै त्यसको विरोध आवश्यक रहेको बताए।
महासेठले ‘जेन जी’ कुनै पार्टी वा आन्दोलन नभई एउटा पुस्ता भएको उल्लेख गर्दै एमाले र नेपाली कांग्रेसभित्रै ठूलो संख्यामा जेन जी रहेको दाबी गरे। दुवै पार्टीका जेन जी एक ठाउँमा उभिए ‘नकली जेन जी’ को नाममा भएका गतिविधि स्वतः अन्त्य हुने उनको भनाइ थियो। ती गतिविधि आकस्मिक नभई वर्षौँदेखि तयारी गरिएको योजनाअन्तर्गत गरिएको दाबी गर्दै विभिन्न उपकरण प्रयोग भएको आरोप लगाए।
मधेश प्रदेशमा एमाले मत र सिटका आधारमा सबैभन्दा ठूलो पार्टी रहेको उल्लेख गर्दै महासेठले धनुषाका चारवटै निर्वाचन क्षेत्र एमालेले जितेको दाबी गरे। धनुषा क्षेत्र नं. १ मा जसपा नेपालको सांसद पनि एमालेकै मतबाट विजयी भएको भन्दै आगामी निर्वाचनमा पनि चारै क्षेत्रमा एमालेले विजय हासिल गर्ने विश्वास व्यक्त गरे।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…