डाँका र संगठित अपराध मुद्दाका फरार प्रतिवादी विक पक्राउ
प्रहरी स्रोतका अनुसार, अन्य फरार रहेका अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ। यस घटनालाई प्रहरीले गम्भीर संगठित आपराधिक गतिविधिका रूपमा लिएको छ र यसमा संलग्न सबै दोषीहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

२०८२ असार १२ बिहीबार, दिउँसो ३:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डाँका तथा संगठित अपराध मुद्दामा फरार रहेका जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. १२ स्थायी घर भएका ३० वर्षीय सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई प्रहरीले पक्राउ गरेको छ। विगतमा सिरहाको मिर्चैया नगरपालिका–३ बताहा पुल नजिक नौ लाख रुपैयाँ लुटपाटमा संलग्न रहँदै फरार रहेका उनलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई सिरहा नगरपालिका–१७, खैरटोका स्थित नेपाल–भारत सीमाबाट मिति २०८२ असार १२ गते बिहान करिब १:०० बजे पक्राउ गरेको जनाएको छ। पक्राउ परेका लोहनीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामार्फत सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरिएको छ।
उक्त घटना २०७९ साल फागुन १० गते दिउँसो करिब २:४५ बजे घटेको थियो। ग्लोबल आइएमई बैंक, कल्याणपुर शाखाका कर्मचारीले मिर्चैया स्थित ग्लोबल आइएमई बैंकबाट नौ लाख रुपैयाँ झिकेर मोटरसाइकलमा कालो झोलामा बोकी शाखातर्फ आउँदै गर्दा बताहा पुल नजिक सशस्त्र अपराधी समूहले लुटपाट गरेका थिए।
प्रहरी अनुसन्धानअनुसार, निलो र रातो रंगको नम्बर नखुलेका यमाहा MT र टीभीएस अपाचे मोटरसाइकलमा आएका चार जनाको समूहले कर्मचारीसहित सुरक्षा प्रदान गरिरहेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी जवान निकेश खवासलाई समेत हतियार देखाई कुटपिट गर्दै झोलासहित नौ लाख नगद रकम लुटेर फरार भएका थिए।
घटनापछि मुख्य योजनाकारमध्ये एक लोहनी भारततर्फ भागेर लुकिछिपी बसेको भन्ने सूचना पाएपछि सिरहा प्रहरीले सशस्त्र प्रहरीसँग समन्वय गर्दै सीमा क्षेत्रमा निगरानी बढाएको थियो।
प्रहरी स्रोतका अनुसार, अन्य फरार रहेका अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ। यस घटनालाई प्रहरीले गम्भीर संगठित आपराधिक गतिविधिका रूपमा लिएको छ र यसमा संलग्न सबै दोषीहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…