जनकनन्दिनी गाउँपालिकामा महिनाबारी स्वच्छता दिवस मनाइयो
उपाध्यक्ष सहगलले महिनावारीसम्बन्धी सामाजिक भ्रम र पूर्वाग्रहलाई हटाउँदै स्वच्छता र स्वास्थ्यप्रति सचेतना फैलाउन सामूहिक पहल आवश्यक रहेको धारणा राखिन। उनले किशोरीहरुको आत्मविश्वास र स्वास्थ्य सुरक्षाका लागि विद्यालय र समुदायमा महिनावारीसम्बन्धी शिक्षा र सुविधा सुनिश्चित गरिनुपर्ने बताइन।

२०८२ जेठ १४ बुधबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । जनकनन्दिनी गाउँपालिकामा मे २८ तारिखका दिन महिनावारी स्वच्छता दिवस विविध कार्यक्रमसहित मनाइएको छ। ‘महिनावारी समाजका लागि सहकार्य’ भन्ने नारासहित सम्पन्न भएको हो ।
गाउँपालिका उपाध्यक्ष कमला सहगलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक शेख, गाउँपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधि सिकेन्द्र गोईतलगायत स्थानीय महिला समूह, किशोरी क्लबका सदस्य तथा विभिन्न समुदायका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
उपाध्यक्ष सहगलले महिनावारीसम्बन्धी सामाजिक भ्रम र पूर्वाग्रहलाई हटाउँदै स्वच्छता र स्वास्थ्यप्रति सचेतना फैलाउन सामूहिक पहल आवश्यक रहेको धारणा राखिन। उनले किशोरीहरुको आत्मविश्वास र स्वास्थ्य सुरक्षाका लागि विद्यालय र समुदायमा महिनावारीसम्बन्धी शिक्षा र सुविधा सुनिश्चित गरिनुपर्ने बताइन।
वडाध्यक्ष शेखले महिनावारीलाई गोप्य होइन, खुलेर छलफल गरिनुपर्ने विषयको रूपमा लिनुपर्ने आवश्यकता औँल्याउँदै गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा लैङ्गिक दृष्टिकोणबाट विभिन्न पहलहरु गर्दै आएको बताए ।
स्वास्थ्य शाखाका गोईतले महिनावारी स्वच्छताको अभावले स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराउँदै नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा सहभागीहरुले महिनावारी व्यवस्थापनका लागि सरसफाइ, सुरक्षित स्यानिटरी प्याडको प्रयोग, तथा बालिकाहरुलाई सहज वातावरण निर्माण गर्न अभिभावक, शिक्षक र समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राखेका थिए।
यस अवसरमा किशोरीहरुले वक्तृत्वकला र चित्रकला प्रदर्शन पनि गरेका थिए। कार्यक्रममा उठेका सुझाव तथा प्रतिबद्धता गाउँपालिकाले आगामी योजना निर्माणमा समावेश गर्ने जनाएको छ।
महिनावारी स्वच्छता दिवसमार्फत समुदायमा महिनावारीप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न सहयोग पुगेको सहभागीहरूको भनाइ छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…