पण्डित हत्याकाण्डः विवाहित महिलासँग अवैद्य प्रेम, प्रतिशोध र परिवारको षड्यन्त्र
घटनामा संलग्न अभियुक्तहरूको रूपमा प्रहरीले नजिमा खातुन, उनका श्रीमान मोस्तकिम अन्सारीका छोरा २९ वर्षीय रजाक अन्सारी, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनुर आलम अन्सारी, ५४ वर्षीय सलाउद्दिन अन्सारी र मोहम्मद हुसैन मोमिनलाई पक्राउ गरेको हो।

२०८२ जेठ ५ सोमबार, राति ८:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा केही दिनअघि घटेको हत्या घटनाले गाउँ मात्रै होइन, पुरै जिल्ला स्तब्ध भएको छ। एक युवकको ज्यान गएको घटनाले ‘प्रेम’, ‘प्रतिशोध’ र ‘परिवारको षड्यन्त्र’लाई एकैसाथ समेटेको देखिन्छ।
प्रेम सम्बन्धको जटिलता ज्यानै जाने त्रासदीमा परिणत भएको छ। विवाहिता महिलासँगको अवैध सम्बन्धकै कारण २८ वर्षीय अरविन्द कुमार पण्डितको निर्मम हत्या गरिएको खुलेको छ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा एकै परिवारका ६ जनालाई पक्राउ गरेको छ।
मृतक पण्डितको इश्वरपुर नगरपालिका–६ चिरानटोलकी नजिमा खातुनसँग प्रेम सम्बन्ध रहेको थियो। खातुन विवाहित थिइन्, उनका श्रीमान मोस्तकिम अन्सारीले पत्नी हराएको भन्दै चैत १९ गते प्रहरीमा उजुरी दर्ता गराएका थिए। अनुसन्धानमा खातुन पण्डितसँग भारत गएको पुष्टि भयो।
पछि स्थानीय पंचको सहमतिमा खातुन पुनः श्रीमानसँग फर्किएकी थिइन्। तर, पण्डितले बारम्बार खातुनको घरमा आउजाउ गरिरहेपछि अन्सारी परिवारमा रिस र प्रतिशोधको भावना चुलिँदै गएको थियो।
यही आक्रोशकै बीच बैशाख २८ गते बिहान नजिमा खातुनले पण्डितलाई भेट्न फुलजोर खोलाको छेउमा बोलाइन्। त्यहीँ पहिलेबाट तयारी अवस्थामा रहेका परिवारका सदस्यहरूले योजनाबद्ध रूपमा उनको हत्या गरे।
हत्या पछि शवलाई परालले ढाकेर खोलाको छेउमा लुकाइएको थियो। तर, घटनालाई अझ गुप्त राख्न शवलाई करिब ५०० मिटर टाढा रहेको उखुबारीमा सारिएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उक्त उखुबारीबाट पण्डितको कुहिएको शव फेला पारेको हो।
आज जिल्ला प्रहरी कार्यालय सर्लाहीले एक कार्यक्रमका बिच ६ वटै आरोपितलाई पत्रकार सम्मेलन गरि र्सार्वजनिक गरेका छन ।
घटनामा संलग्न अभियुक्तहरूको रूपमा प्रहरीले नजिमा खातुन, उनका श्रीमान मोस्तकिम अन्सारीका छोरा २९ वर्षीय रजाक अन्सारी, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनुर आलम अन्सारी, ५४ वर्षीय सलाउद्दिन अन्सारी र मोहम्मद हुसैन मोमिनलाई पक्राउ गरेको हो।
उनीहरूविरुद्ध कर्तव्य ज्यानअन्तर्गत जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खडकाले जानकारी दिए। पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको थप विवरण खुल्ने प्रहरीले जनाएको छ।
यो घटना केवल प्रेम सम्बन्धको परिणाम होइन, सामाजिक मर्यादा र पारिवारिक ‘इज्जत’ जोगाउने नाममा भएको सामूहिक अपराधको भयावह रूप पनि हो। विवाह संस्था र वैवाहिक बन्धनभित्र प्रेमको विचलन कसरी ज्यानै लिने षड्यन्त्रमा बदलिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ पण्डित हत्याकाण्ड।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…