न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिकामा आजदेखि प्रसुति सेवा सुचारु भएको छ ।
मिथिलाबिहारी नगरपालिका वडा नम्बर १ स्थित २४ घण्टे प्रसुति सेवा सँचालनमा आएको हो । मिथिलाबिहारी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम शोभित दाहाको अध्यक्षता तथा नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुँगानाको प्रमुख आतिथ्यमा प्रसुति सेवाको उदघाटन गरिएको हो ।
नगर प्रमुख राजेन्द्र प्रसाद यादवको विशिष्ट आतिथ्य भएको उदघाटन समारोहमा वडा नं. १ मा सँचालनमा आएको प्रसुति सेवाले यहाँकी महिलाहरुले लाभ पाउने बताए । उनले स्थानीय स्तरमै प्रसुतिको लागि २४ घण्टे सेवा सुचारु भएपछि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।
सो क्रममा नेता ढुँगानाले स्थानीय स्तरमै महिलालाई प्रशव पीडाको बेला जनकपुर वा अन्य शहर टाढा जानुपर्ने बाध्यतालाई अन्त्य गरेकोमा स्थानीय सरकारसहित वडाध्यक्षको प्रशँसा गरे । उनले नगर प्रमुख राजेन्द्र यादवको खुलेर प्रशँसा गरे ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनीधी, कर्मचारी, स्थानीय, विद्यार्थी, स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
- २०८१ भदौ ८ शनिबार