भुक्तानी नदिएपछि धनौजी गाउँपालिकामा पटक-पटक तालाबन्दी, अधिकृत नआएपछि सबै ठप्प
नयाँ अधिकृतको रुपमा सरुवा भई रामकिशोर महतो गएपछि सोही विवादित योजनामा भुक्तानी माग्न थालेपछि अधिकृत महतोले कागजात नपुगेको, कामै नभएको योजनामा आफू समेत भुक्तानी दिन नसक्ने बताएपछि ठेकेदार, उपभोक्ता समितिहरुले तालाबन्दी गरेको हो ।
२०७९ माघ ४ बुधबार, बेलुकी ७:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा ठेकेदारहरुले पटक पटक तालाबन्दी गर्दै आएको छ ।
निरन्तर विवादित रहँदै आएको धनौजी गाउँपालिकामा गत आर्थिक बर्षमा काम गरेका ठेकेदार, उपभोक्ता समितिहरुले अहिलेसम्म समेत भुक्तानी नपाएको भन्दै पटक पटक तालाबन्दी गर्दै आएको छ ।
विभिन्न योजनामा काम सम्पन्न गरेपनि भुक्तानी नदिएको भन्दै गाउँपालिकामा ठेकेदार, स्थानीय उपभोक्ता समितिले ताल्चा लगाईदिएको छ ।
गाउँपालिका निरन्तर विवादमै रहँदै आएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो समेत कार्यालय आउन छाडेका छन् । जनप्रतिनीधिहरुको विचको विवादलाई प्रशासनीक रुपमा सार्न थालेपछि अधिकृत महतो गाउँपालिकामा समय दिन छाडेका छन् ।

यसअघि सो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सावन चौधरी रहँदा विभिन्न योजनामा काम गरेका ठेकेदारहरुले भुक्तानीको लागि कागजातहरु पेश गरेका थिए । तर, कामै नगरी, दुई नम्बर काम गरी, काम भएको भन्दा अधिक भुक्तानी माग्न थालेपछि उनीहरुको भुक्तानी रोक्का गरेका थिए ।
नयाँ अधिकृतको रुपमा सरुवा भई रामकिशोर महतो गएपछि सोही विवादित योजनामा भुक्तानी माग्न थालेपछि अधिकृत महतोले कागजात नपुगेको, कामै नभएको योजनामा आफू समेत भुक्तानी दिन नसक्ने बताएपछि ठेकेदार, उपभोक्ता समितिहरुले पटक-पटक तालाबन्दी गर्दै आएको छ ।
गाउँपालिका अध्यक्ष समेत गाउँपालिकामा निरन्तर अनुपस्थित भएपछि धनौजी गाउँपालिकाको पुरै कार्य नै ठप्प भएको छ ।
सोही तनावमा रहेका अधिकृत महतोले ठेकेदारहरुको फोन समेत उठाउन छाडेपछि उनीहरुले आक्रोसित भएर जनप्रतिनीधि मार्फत भुक्तानी माग्दै पटक पटक तालाबन्दी गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश पण्डित
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…