मिथिलाबिहारी र धनुषाधाम नगरपालिकाबीच निःशुल्क एम्बुलेन्स र दमकल सहकार्यको सम्झौता
बार्षिक आन्तरिक लेखा परिक्षण, प्रतिवेदन र सेवा विवरणको अभिलेख दुरूस्त राख्ने जिम्मेवारी प्रथम पक्षको हुने भनेर सम्झौता गरिएको हो ।

२०७९ पुस २७ बुधबार, बिहान ७:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिका र धनुषाधाम नगरपालिकाबीच एम्बुलेन्स र दमकल सहकार्यको सम्झौता भएको छ ।
मँगलबार एक कार्यक्रमबीच मिथिलाबिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव र धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले एक–आपसमा दुवै नगरपालिकावासीलाई आवश्यक परेको बेला निःशुल्क एम्बुलेन्स र अग्नी नियन्त्रक यन्त्र (दमकल) उपलब्ध गराउने सम्झौता गरेको हो ।
अन्तर स्थानीय तह सहकार्य र समन्वयका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ बमोजिम मिथिला बिहारी नगरपालिकाले साझा सरोकारको रुपमा विद्यामान रहेका एम्बुलेन्स आवश्यक परेको खण्डमा धनुषाधाम नगरपालिकालाई निःशुल्क रुपमा उपलब्ध गराउने सम्झौता गरेको हो ।
सो क्रममा धनुषाधाम नगरपालिकाले मिथिलाबिहारी नगरपालिकालाई निःशुल्क रुपमा अग्नी नियन्त्रक यन्त्र अर्थात दमकल उपलब्ध गराउनुपर्ने शर्त राखिएको छ । स्थानीय तहमा एक आपसमा सहकार्य गरी एम्बुलेन्स र दमकल सहकार्यको सम्झौता भएको हो ।
प्रथम पक्षले दोश्रो पक्षलाई एम्बुलेन्स उपलब्ध गराउँदा चालक सहित उपलव्ध गराउनु पर्नेछ र मिथिला बिहारी नगर कार्यपालिकाको कार्यलयबाट घटना स्थल सम्म पुग्दा लागे सम्पूर्ण खर्च वा अन्य भैपरि आउने दुर्घटना तथा आकस्मिक खर्च साथै दोश्रो पक्षले उक्त दिनको सबै खर्च आफ्नै कार्यालय बाट व्यहोर्नुपर्नेछ। यस्तै, धनुषाधामले समेत मिथिलाबिहारीलाई चालकसहित नै दमकल उपलब्ध गराउनुपर्नेछ ।
.jpg)
सम्झौतामा दोश्रो पक्ष भनिएको धनुषाधाम नगरपालिकाले एम्बुलेन्स संग सम्वन्धित काम बाहेक अन्य कार्यमा उक्त एम्बुलेन्स प्रयोग गर्न नपाईने उल्लेख छ । मिथिलाबिहारी नगरपालिकाले एम्बुलेन्स सेवा संचालन व्यवस्थापन समितिले तोकेको शुल्क बाहेक बढी शुल्क लिने छैन । सोही अनुसार धनुषाधामले पनि दमकल उपलब्ध गराउन शर्त पालना गर्नुपर्ने भएको छ ।
मिथिलाबिहारी नपाले धनुषाधाम नपालाई एम्बुलेन्स उपलव्ध गराउँदा कहाँ गएको छ सो को जानकारी अनिवार्य रूपमा दोश्रो पक्षले प्रथम पक्षलाई जानकारी
दिनुपर्ने शर्त समेत राखिएको छ । दमकल दिँदा मिथिलाबिहारीले सबै जानकारी धनुषाधामलाई उपलब्ध गराउनुपर्नेछ ।
केहि प्राविधिक कारणबस एम्बुलेन्स प्रथम पक्षकै कार्यालयमा बिग्रिन गएमा ठिक नहुँदा सम्म दोश्रो पक्षले प्रथम पक्षलाई एम्बुलेन्स उपलब्ध गराउन वाध्य पार्ने छैन । सो को व्यवस्था दोश्रो पक्षले अन्य कतै बाट गर्नुपर्ने हुन्छ ।, प्रथम पक्षले दोश्रो पक्षलाई एम्बुलेन्स उपलव्ध गराई सके पश्चात एम्बुलेन्स केही प्राविधिक कारणले बिग्रिन गएमा त्यस्को सम्पूर्ण खर्च दोश्रो पक्षले व्यहोर्नेछ। भनेर सहमति गरेको छ ।

बार्षिक आन्तरिक लेखा परिक्षण, प्रतिवेदन र सेवा विवरणको अभिलेख दुरूस्त राख्ने जिम्मेवारी प्रथम पक्षको हुने भनेर सम्झौता गरिएको हो ।
सम्झौता समारोहमा मिथिलाबिहारी नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद यादव, धनुषाधामका नगर प्रमुख बालेश्वर मण्डल, मिथिलाबिहारीकी उपमेयर शोभा देवी, प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, सूचना प्राविधिक शाखाका लक्ष्मी नारायण यादवसहित धनुषाधामकी उपमेयर विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दासको विशेष उपस्थिति रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…