रौतहटको सिडिओले निर्वाचन निष्पक्ष हुन नदिने षडयन्त्र गरेः प्रभु साह
नेता साहले लगाएको आरोपमा सत्यता नभएको र आफुले निष्पक्ष काम गरिरहेको उनले बताए ।

२०७९ बैशाख २२ बिहीबार, दिउँसो ४:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री प्रभु साहले रौतहटका प्रमुख जिल्ला अधिकारीले स्थानीय तहको निर्वाचन निष्पक्ष हुन नदिने षडयन्त्र गरेको आरोप लगाएका छन ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागी विभिन्न किसिमको षडयन्त्र गरिरहेको बताउदै नेता साहले सरकारको ध्यानाकर्षण गराएका छन ।
जिल्लाभित्र मतदान अधिकृतहरु नियुक्त गर्दा कुनै पनि कानुन वा मापदण्ड नअपनाइ सिडियोको ठाडो निर्देशनमा खटनपटन गरेको तथा मतदान केन्द्र र मतगणना केन्द्र तोक्दा समेत सिडियोले मनोमानी गरी गठबन्धनका नेताहरुको इशारामा अनावश्यक हस्तक्षेप गरि रहेको साहको भनाई छ ।
निर्वाचन गराउने सरकार तठस्थ भुमिकामा रही प्रतिपक्षलाई विश्वस्त पार्नुपर्ने ठाउँमा रौतहटका सिडियोले प्रतिपक्षी दलका स्थानीय नेतालाई तर्साउने धम्काउने जस्ता गतिविधि गरिरहेको भन्दै पूर्वमन्त्री साहले आफ्ना हर्कत सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्वतन्त्र भुमिका खेल्नुपर्ने सिडियो गठबन्धनका नेताहरुको गोटी बनेको भन्दै पुर्वमन्त्री साहले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि सिडियोको बर्खास्तीको माग गरेका छन् ।
बुधवार राति सामाजिक संजालमा नेता प्रभु साहले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जिल्लाको निर्वाचन निष्पक्ष हुन नदिने षडयन्त्र गरिरहेको भनी स्टाटस लेखेका थिए ।
“निर्वाचनको बेला सरकार अथवा सरकारी निकाय पूर्णत कामचलाउ भएर तठस्थ भुमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
तर रौतहटको सिडियो आफै निर्वाचनलाई निष्पक्ष हुन नदिने षडयन्त्रमा छ । निर्वाचन आयोग हो कि गठबन्धन सरकारको लंगोटी? बुझ्नै गाह्रो छ ।”
पुर्वमन्त्री साहले भने, “ मतदान अधिकृतहरु एउटा निश्चित मापदण्डमा खटाइनुपर्ने हो तर सिडियोको ठाडो आदेशमा मनपरी ढंगले खटनपटन भएको छ । मतदान स्थल तथा मतगणना केन्द्रहरुको छनोटमा समेत सिडियोको मनोमानी हस्तक्षेप छ ।”
यता, सिडियो कृष्ण बहादुर शाहीले भने निर्वाचन आयोगले गरेका कामहरु प्रति आफुलाई नेता साहले दोष लगाउन खोजेको बताए ।
आफुले कुनै दल वा व्यक्तिको प्रभाव दबावमा नपरेर सरकारले तोकेका कार्यक्षेत्रको अधिनमा बसेर निर्वाचन आयोगलाई निष्पक्ष काम गर्न दिएको बताए ।
“मतगणना स्थल मौलापुर नगरपालिकामा हुनु पर्छ भन्ने एमालेको चाहना हो ।” प्रमुख जिल्ला अधिकारी शाहीले भने “६ दलले पथराको विद्यालयमा मतगणना गर्ने निर्णय गरे पछि निर्वाचन आयोगले यस बारेमा निर्णय गर्ने हो ।”
यो सबै निर्वाचन आयोगले गर्ने काममा सिडियोको भूमिका नहुने उनले बताए । “हामीले शान्ती सुरक्षा प्रदान गर्ने काम हो ।” निर्वाचन आयोगले तोकेका मतदान केन्द्र र मतगणना स्थलको सम्पूर्ण सुरक्षाको जिम्मेवारी हाम्रो हो ।
नेता साहले लगाएको आरोपमा सत्यता नभएको र आफुले निष्पक्ष काम गरिरहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…