हँसपुरका मेयर मण्डलविरुद्ध सिडिओ अफिसमा ज्ञापन
मेयर मण्डल विरुद्ध वडा नम्बर ५ का वडासदस्य धनु यादव, वडा नम्बर ३ का वडासदस्य शशिकान्त कापर, सदरे आलम, अमृता देवी दास, लालमाने देवी, ईशैर देवी, मिना देवी मण्डल, जिवसती देवी दास, रामकुमारी देवी, शिवशरण यादव लगायतका वडासदस्यहरुले सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

२०७८ फागुन ४ बुधबार, राति ९:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले नगरपालिकामा व्यापाक भ्रष्टाचार गरेको भन्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) मा ज्ञापन पत्र बुझाएका छन् ।
बुधबार बिहान हँसपुर नगरपालिकाका नागरिक समाजले चालु आर्थिक बर्षको लागि स्वीकृत गरिएको योजनाहरु सुत्रमा सूचिृकत गनै नगरी नगर प्रमुख मण्डलले मनमौजी तरिकाले व्यक्ति स्वार्थको अनुसार सुत्रमा योजना आयोजना सँचालनमा ल्याई गैर कानुनी कार्य गरेको भन्दै मेयर उपर छानबिनको लागि माग गरिएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत नगरपालिकाका नागरिक समाजहरुले मेयर मण्डलमाथि छानबिनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

विगत ४ बर्षदेखि नगर प्रमुखले आफ्नो नजिकको कर्मचारी स्टोरमा राखी नगर प्रमुखले कार्यालयको समाग्री आफ्नो र आफ्नो आफन्तको घरमा प्रयोग गर्दै आएको तथा कार्यालयमा कुनै पनि समाग्री उपलब्ध नभएको आरोप सहित सिडिओ पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।
हँसपुर नगरपालिकाको सम्पर्क कार्यालय जनकपुरमा राखेर प्रत्येक काम गर्ने व्यक्तिबाट कमिशन रकम लिएको र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई समेत कारवाहीको दायरामा ल्याउन माग गरिएको हो ।
जिन्सी शाखाका प्रमुख शिव नारायण मण्डललाई पत्र सँख्या २०७८÷०७९ को चलानी नम्बर २७९ मा गत असोज २४ गते नै जिन्सी शाखा नीरिक्षण गरी प्रतिवेदन पेश गर्न पत्राचार गर्दा पनि कुनै जवाफ नदिएको अटेरी गरेको आरोप सहित जिन्सी शाखाका प्रमुख मण्डलमाथि पनि छानबिनको माग गरिएको हो ।
साथै जिन्सीका शाखाका मण्डललाई स्वास्थ्य चौकी बघचौडामा कामकाज गर्न जिम्मेवारी ताकेदा गर्दा अटेरी गरी कुनै प्रकारको बरबुझारथ नै नगरी कार्यालयको समाग्री हिनामिना गरेको आरोपसहित कारवाहीको माग गरिएको हो ।

नगर प्रमुख रामज्ञान मण्डलले दुई चक्के सवारी साधान कार्यालय सहयोगी र नगरपालिकामा काम नै नगर्ने कर्मचारीलाई व्यक्तिगत रुपमा प्रयोग गर्न दिएको भन्दै नियन्त्रण गर्नुपर्ने, नगरपालिकाको ट्रयाक्टर, जेसिबी, ट्रिपर समेत नगरपालिकाको कार्यमा प्रयोग नगरी व्यक्तिगत कार्यमा खटाउने गरेको, मर्मत सम्भारको लागि पटक पटक रकम निकासा गरिएको, कम्प्यूटर अपरेटरमा कार्यरत श्याम कुमार मण्डलले हँसपुर नगरपालिकाको फर्जी नगदी रसिद जारी गरी अनुमानित ४ लाख रकम हिनामिना गरेको र मेयर रामज्ञान मण्डलले गत बर्षको नगरसभाबाट राजस्वको रकम कार्यालय प्रयोजनमा खर्च भएको जस्ता कानुन विपरित निर्णय प्रमाणित गरी भ्रष्टाचारलाई प्रवर्दन गरेको आरोप सहित कारवाहीको माग गरिएको हो ।
यस्तै, हँसपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कामेश्वर कापरले पोखरीको ठेक्काबाट ११ लाख १० हजार रुपैयाँ घप्ला गरी भ्रष्टाचार गरेको भन्दै कारवाहीको माग गरिएको हो ।
मेयर मण्डल विरुद्ध वडा नम्बर ५ का वडासदस्य धनु यादव, वडा नम्बर ३ का वडासदस्य शशिकान्त कापर, सदरे आलम, अमृता देवी दास, लालमाने देवी, ईशैर देवी, मिना देवी मण्डल, जिवसती देवी दास, रामकुमारी देवी, शिवशरण यादव लगायतका वडासदस्यहरुले सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…