जानकी मन्दिर क्षेत्रमा टिकटकरहरुको गतिविधि रोकिएनन, क्यामेरा र मोबाईल निषेध गर्ने तयारी
मन्दिरभित्र गर्भगृहको तस्विर नलिन सूचना गरिएपनि पूजापाठका लागि जाने श्रद्धालुहरुले खुल्ला रुपमा फोटो भिडियो खिचेको देखिन्छ ।

२०७८ साउन ८ शुक्रबार, बेलुकी ५:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिर र सँगै रहेको विवाह मण्डप (मडवा) मा टिकटकरहरुको उच्छृँगल गतिविधिले मन्दिर प्रशासन परेशान भएका छन् ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिर सहित सँगै रहेको रामजानकी विवाह मण्डपमा टिकटक भिडियोको नाममा अश्लिल गतिविधि बढाएको भन्दै मन्दिर समितिले चिन्ता व्यक्त गरेको छ ।
केही दिन अघि केही किशोरी किशोरीहरुले टिकटक बनाउँदा गरिएको व्यवहारले जनकपुर तातिएको थियो । हिन्दुहरुको आस्थाको केन्द्रमा गएर सुनुयोजित तरिकाले प्रहार गरेको आरोप पनि समाजिक सँजालमा उठाइएको छ ।
पर्व, उत्सवमा मात्र देखिने जनकपुरको क्लबहरुले समेत कुनै चासो नलिएर जानकी मन्दिर जस्तो आस्थाको केन्द्रमा योजनावद्ध तवरले धार्मिक आस्थामाथी प्रहार गर्दा पनि नबोलेको आरोप पनि लगाइएको छ ।
उच्छृँगल गतिविधिपछि केही दिन प्रहरीले कडाई गरेपनि पुनः वास्ता गर्न छाडिदिएको हो । हुलमा पस्ने युवायुवति, किशोरीहरुले मन्दिर जस्तो पवित्र ठाउँमा गर्नै नहुने गतिविधि गरिरहेको भिडियोहरु टिकटकमा छयापछयाप्पी भएको देखिएको छ ।

जानकी मन्दिरमा क्यामेरा निषेध गरिएको भएपनि मन्दिरको व्यवस्थापन समितिले त्यसलाई लागू गर्न सकिरहेको छैनन् । मन्दिरभित्र गर्भगृहको तस्विर नलिन सूचना गरिएपनि पूजापाठका लागि जाने श्रद्धालुहरुले खुल्ला रुपमा फोटो भिडियो खिचेको देखिन्छ ।
त्यति मात्र नभएर अहिले टिकटक बनाउने युवायुवति, किशोर किशोरीहरुले मन्दिर परिसरभित्रै उच्छृँगल प्रकारको अभिनय, गतिविधि गरेको पाईएको छ ।
यो सम्बन्धमा मन्दिरका छोटा महन्थ राम रोशन दास वैष्णवले मन्दिर परिसर र विवाह मण्डपमा भइरहेको गतिविधिले आफूहरु समेत आजित भएको सुनाए । उनले पशुपतिनाथ क्षेत्रमा प्रहरी परिचालन गरिएपनि जानकी मन्दिरमा प्रहरी दिन नसकेकोप्रति दुःख व्यक्त गरे ।
उनले ३ दिनभित्रै धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र धनुषाका प्रहरी प्रमुखसँगको बैठक बसेर जानकी मन्दिरमा क्यामेरा, मोबाईल निषेध गर्ने तयारी गरिएको पनि बताए । टिकटकरहरुले सुनुयोजित तवरले पनि हिन्दुत्वमाथि प्रहार गर्न खोजेको आरोप पनि लगाए ।
दासका अनुसार, अब २४ सै घण्टा जानकी मन्दिर परिसरमा प्रहरी खटिने गरी व्यवस्थापनको लागि प्रशासनसँग अनुरोध गरिने बताउँदै मोबाईल, क्यामेरा चलाए जफत गरिने नियम लागू गरिने बताए ।
यता, धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद बास्तोलाले जानकी मन्दिरबाट यस्तो कुनै अधिकारिक निवेदन नआएको बताए । उनले जानकी मन्दिर प्रशासनले लिखित रुपमा पनि सुरक्षाकर्मी परिचालनको लागि माग गरे व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरे ।
सिडिओ बास्तोलाले जानकी मन्दिर प्रदेश नम्बर २ कै मुटु र धार्मिक आस्थाको केन्द्र रहेको बताउँदै यसको लागि मन्दिर व्यवस्थापन समितिसँग छलफल गरी कडा नियम लागू गर्न सकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…