चार वडाध्यक्षहरुद्धारा कमला नगरपालिकामा तालाबन्दी, नगरपालिका ठप्प
नगरस्तरीय योजनामा बजेट राखेपनि वडास्तरीय बजेटको रकम सम्बन्धित वडामै खर्च गरिने र सोही वडामा योजनाहरु राखिएको दाबी नगर प्रमुख गोईतको छ ।

२०७८ बैशाख ७ मंगलबार, बिहान ९:१४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् । उनीहरुले गत आईतबारदेखि नै तालाबन्दी गरेका हुन् ।
बैशाख ५ गते आईबार बिहानै कमला नगरपालिकाका केही असन्तुष्ट वडाध्यक्षहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले नगरपालिकाका मेयर, नि. प्रमुख प्रशासकीय अधिकृत र लेखाप्रमुख मिलेर वडाको योजना काटेको भन्दै विरोध स्वरुप तालाबन्दी गरेको बताएका छन् ।
वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव, वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव र वडा नं. ८ का वडाध्यक्ष राजेश्वर मरिक यादवले सँयुक्त रुपमा नगरपालिकाको मूलगेटमा तालाबन्दी गरेको हो ।
एमआईएस (सिस्टम) मा प्रवृष्टि (इन्ट्री) को लागि दिएको वडास्तरीय योजनाहरुलाई कटौती गरी नगरपालिकाका मेयर राम उदगार गोईत, अधिकृत बीरेन्द्र सढान र लेखा प्रमुख सँजीव कुमार महतोले आफूखुसी योजनाहरु कटौती गरी ईन््टरी गरेको आरोप वडाध्यक्षहरुको छ ।
उनीहरुले मनोमानी तरिकाले वडाध्यक्षहरुलाई नसोधिकनै आफूखुसी योजनाहरु राखेको भन्दै विरोध जनाएका छन् । योजनाहरुलाई हेरफेर गरी सुत्रमा इन्ट्री गरेको आरोप लगाइएको छ ।
यसका साथै गत आर्थिक वर्षमा वडाहरुबाट भएको योजनासम्पन्नपछि पनि हालसम्म भुक्तानी नदिएको, गत आर्थिक वर्षकै समाजिक सुरक्षा भत्ताको तेस्रो किस्ता हालसम्म भुक्तानी नदिएको, चालु आर्थिक वर्षको समाजिक सुरक्षा भत्ताको दोस्रो किस्ता भुक्तानी नदिएको भन्दै समेत तालाबन्दी गरेको जनाइएको छ ।
वडाध्यक्षहरुले दलित बालबालिकाहरुको लागि आउने पोषण भत्ता समेत अहिलेसम्म उपलब्ध नगराएको आरोप सहित नगरापालिकामा तालाबन्दी गरेको वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवले आफ्नो अधिकारिक फेसबुक मार्फत जनाएका छन् ।
गत आर्थिक वर्षमा सम्पन्न भएको विभिन्न योजनाहरु सहित बाँकी बसेको बजेटको रकम वडाध्यक्षहरुले वडामार्फत चलाउन दिनुपर्ने माग समेत गर्दै आएका छन् भने नगर प्रमुख गोईतले गत आर्थिक वर्षको रकमलाई नगरस्तरीय बजेटमा सामेल गरेपछि उनीहरुले विरोध जनाएका छन् ।
नगरस्तरीय योजनामा बजेट राखेपनि वडास्तरीय बजेटको रकम सम्बन्धित वडामै खर्च गरिने र सोही वडामा योजनाहरु राखिएको दाबी नगर प्रमुख गोईतको छ ।
तालाबन्दी सम्बन्धमा बोल्दै नगर प्रमुख गोईतले चालु आर्थिक वर्षको लागि बाँडफाँड भएको बजेट रकम भन्दा अधिक योजनाहरु पेश भएकोले केही योजनाहरुमा रकम अपुग मात्र भएको प्रतिक्रिया दिएका छन् ।

मँगलबार न्यूज ब्यूरोसँगको सँक्षीप्त कुराकानीमा नगर प्रमुख गोईतले वडामा विनियोजन गरिएको रकमभन्दा बढीको योजनाहरु पेश भएपछि सुत्रमा ईन्ट्री गर्दा रकम बमोजिमको मात्र गर्नुपर्ने प्रावधान अनुसार गरिएको बताए ।
उनले भने, –“वडाहरुमा छुटयाइएको रकम भन्दा त बढी योजनाहरु कसरी हाल्ने ? रकम जतिको छ त्यतिकै योजनाहरु अटाउँछन नी ? वडाको बजेट ९० लाख छ भने १ करोडको योजनाको लागि थप १० लाख त पुग्दैन् , अनि कसरी मिलान गर्ने त ? वडाहरुबाट वडाध्यक्ष ज्यूहरुले योजना मात्र दिनुभयो तर, कुन योजनामा के कतिको रकम हाल्ने भनेर प्रष्ट नभएकै कारण पनि केही योजनाहरु मेटिएको छ ।”
यसका साथै उनले नगरपालिकामा तालाबन्दी गर्नुभन्दा अघि कुनै औपचारिक छलफल, जानकारी आफूलाई नभएको दाबी गरे । उनले कुनै प्रकारको विज्ञप्ति, ज्ञापन पत्र समेत आफूलाई नदिइकनै सीधा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नु अनुचित रहेको बताए ।
आर्थिक बर्ष सम्पन्न हुन अन्तिम ३ महिना मात्र बाँकी रहेको समयमा वडाध्यक्षहरुले तालाबन्दी गर्दा नगरपालिका पूर्ण रुपमा ठप्प भएको बताउँदै उनले तालाबन्दीले आम नागरिक प्रत्यक्ष रुपमा नोक्सानमा पर्ने बताए ।
“तालाबन्दी समाधान हो त ? बसेर पनि कुरा गर्न सकिन्छ, औपचारिक रुपमा ज्ञापन पत्र बुझाएर वा एक पटक सम्पूर्ण जनप्रतिनीधि बसेर छलफलको माध्यमबाट समस्याको हल निकाल्न सकिन्छ । कहाँ असन्तुष्टि छ मुवायना गर्न सकिन्छ । तर, तालाबन्दीले फाईदा कसलाई ? मात्र नोक्सान र घाटा हुन्छ आम जनतालाई । उहाँहरुलाई छलफलमा आउनको लागि म यसै माध्यमबाट अनुरोध गर्न चाहन्छु ।”– मेयर गोईतले भने ।
यस सन्दर्भमा कमला नगरपालिकाका लेखा सँजीव कुमार साहले जनप्रतिनीधिबाट आएको योजनाहरु र आदेशानुसार मात्र सुत्रमा इन्ट्री गरेको सुनाए भने नि. प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र सढानसँग ९८५४०२९६३ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।
यो सम्बन्धमा वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवको मोबाइल नम्बर ९८५४०२०४४४ र वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादवको मोबाईल नम्बर ९८५४०२८५४३ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…