९ लाख घुससहित नापी अधिकृत पक्राउ, छुट जग्गाको मिसिल पठाउन सेवाग्राहीसँग रकम मागेको आरोप
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार वलीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ ।
२०८३ असोज १ बिहीबार, बेलुकी ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छुट जग्गा दर्ताका लागि सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाइदिने भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं डिल्लीबजारस्थित ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वलीलाई आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले २०८३ भदौ ३१ गते टोखा नगरपालिका–५ स्थित वसुन्धरा चोकको एक रेस्टुरेन्टबाट ९ लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
आयोगमा परेको सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउनुपर्ने काममा अनावश्यक सास्ती, दुःख तथा हैरानी दिँदै वलीले सेवाग्राहीसँग घुस मागेको आरोप छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार वलीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ ।
असोज १ गते विशेष अदालतको आदेशबाट वलीलाई हिरासतमा राख्ने म्याद थप गरिएको आयोगले जनाएको छ ।
९ लाख रुपैयाँ घुससहित पक्राउ परेका वलीमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम थप अनुसन्धान अघि बढाइने अख्तियारले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…