मक्काको मस्जिदमा ‘अनैतिक कार्य’ गरेको आरोपमा दुई बंगलादेशीलाई साउदी अरबमा मृत्युदण्ड
मक्कामा भएको घटनाको प्रकृति, प्रयोग गरिएको कानुनी आधार र मृत्युदण्डअघि बंगलादेशी नियोगलाई किन जानकारी दिइएन भन्ने विषयमा थप विवरण सार्वजनिक हुन बाँकी छ ।

२०८३ कार्तिक ३ मंगलबार, बिहान ६:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । साउदी अरबले मक्कास्थित एक मस्जिदमा ‘अनैतिक कार्य’ गरेको अभियोगमा दोषी ठहरिएका दुई बंगलादेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । साउदी अरबको गृह मन्त्रालयका अनुसार मृत्युदण्ड पाउनेमा एक पुरुष र एक महिला छन् ।
अक्टोबर १४, २०२६ मा मृत्युदण्ड कार्यान्वयन गरिएको विषयलाई साउदी प्रेस एजेन्सी (एसपीए) ले गृह मन्त्रालयको विवरण उद्धृत गर्दै सार्वजनिक गरेको थियो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्युदण्ड पाउनेमा नजरुल इस्लाम अब्दुल बासिर र सिटी अख्तर रहेका छन् ।
साउदी अधिकारीहरूका अनुसार दुवैलाई मक्काको एक मस्जिदभित्र अनैतिक कार्य गरेको आरोपमा सुरक्षा निकायले पक्राउ गरेको थियो । अनुसन्धानपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको र अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो ।
अदालतको फैसला सम्बन्धित उच्च न्यायिक निकायबाट सदर भएपछि शाही आदेशमार्फत सजाय कार्यान्वयन गरिएको साउदी गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले पवित्र धार्मिक स्थलको मर्यादा उल्लङ्घन गरेको र घटनाको गम्भीरतालाई सजायको आधार बनाएको उल्लेख गरेको छ ।
तर, साउदी अधिकारीहरूले उनीहरूले गरेको भनिएको ‘अनैतिक कार्य’ के थियो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । समाजिक सँजालमा भने मस्जिदभित्रै अनैतिक कार्य गरेको भनेर भिडियोहरु भाईरल बनेको छ । यद्यपी, त्यसको पुष्टि भने हुन सकेको छैनन् ।
बंगलादेशलाई दिइएन पूर्वजानकारी
यस घटनामा अर्को महत्त्वपूर्ण पक्ष के छ भने बंगलादेशको जेद्दास्थित महावाणिज्य दूतावासले मृत्युदण्ड कार्यान्वयन हुनुअघि आफूलाई जानकारी नदिइएको जनाएको छ ।
बंगलादेशी सञ्चारमाध्यम द डेली स्टार र ढाका ट्रिब्युनका अनुसार घटनाबारे सञ्चारमाध्यमबाट जानकारी पाएपछि बंगलादेशी कूटनीतिक नियोगले साउदी अधिकारीहरूसँग औपचारिक जानकारी मागेको थियो ।
मक्कामा भएको घटनाको प्रकृति, प्रयोग गरिएको कानुनी आधार र मृत्युदण्डअघि बंगलादेशी नियोगलाई किन जानकारी दिइएन भन्ने विषयमा थप विवरण सार्वजनिक हुन बाँकी छ ।
मक्कालाई इस्लाम धर्मको सबैभन्दा पवित्र सहर मानिन्छ । धार्मिक स्थलको मर्यादासम्बन्धी विषयमा साउदी अरबले कडा कानुनी कारबाही गर्ने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…