सिरहामा सामाजिक बहिष्कारको आरोप, १५ लाख नदिए मृतकको अन्तिम सँस्कारमा अवरोध
यस विषयमा नरहा गाउँपालिका–१, देवीपुरका वडाध्यक्ष अशोक महतोले आफूलाई घटनाबारे जानकारी नभएको बताएका छन् । यता, पीडित राम भरोशी मोचीले रामवृक्ष मोची, रामधनी मोची र गोपिया मोचीविरुद्ध प्रहरीमा ठाडो निवेदन दिएको जानकारी दिएका छन् ।

२०८३ कार्तिक २ सोमबार, राति ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका–१, देवीपुरस्थित चमर टोलमा प्रेम सम्बन्धसँग जोडिएको तस्बिर सार्वजनिक भएपछि एक परिवारलाई सामाजिक बहिष्कार गरिएको र १५ लाख रुपैयाँ जरिवाना मागिएको आरोप लागेको छ ।
पीडित पक्षका अनुसार, नरहा गाउँपालिका–१, देवीपुर निवासी राम भरोशी मोचीका भतिजा धर्मु महरा भनिने युवक गाउँमा पाहुना आएका बेला एक युवतीसँग प्रेम सम्बन्धमा परेका थिए । सोही क्रममा उनीहरू चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएपछि गाउँमा विवाद उत्पन्न भएको पीडित पक्षको भनाइ छ ।
उक्त घटनापछि देवीपुरस्थित मोची टोलका रामवृक्ष मोची, रामधनी मोची, गोपिया मोचीसहित केही व्यक्तिले आफूहरूलाई सामाजिक गतिविधिबाट अलग्याएको पीडित पक्षले आरोप लगाएको छ । उनीहरूका अनुसार, गाउँमा आयोजना हुने भोजभतेरमा सहभागी हुन रोक लगाइएको, निम्तो काटिएको र मैथिली समुदायमा मृत्युपछि गरिने परम्परागत संस्कारसमेत गर्न अवरोध पुर्याइएको छ ।
पीडित पक्षको दाबीअनुसार, केही व्यक्तिले पञ्चायती बसाएर १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने सर्त राखेका छन् । उक्त रकम नतिरेसम्म भोजभतेरमा सहभागी हुन नदिने र सामाजिक रूपमा अलग्याउने धम्कीसमेत दिइएको उनीहरूको आरोप छ ।
गत बुधबार गाउँनजिकैको खोलामा मैथिली परम्पराअनुसार पिण्डदान तथा मृत्युसंस्कारसम्बन्धी धार्मिक विधि गर्न गएको समयमा मोची टोलका केही व्यक्तिले गालीगलौज गर्दै उक्त स्थानमा संस्कार नगर्न दबाब दिएको र धम्कीसमेत दिएको पीडित पक्षले जनाएको छ ।
व्यक्तिगत प्रेम सम्बन्धसँग जोडिएको घटनाका कारण धार्मिक तथा सांस्कृतिक संस्कार गर्न अवरोध गरिएको र सामाजिक गतिविधिमा सहभागी हुन रोक लगाइएको आरोपले गाउँमा सामाजिक सद्भाव तथा व्यक्तिको अधिकारसम्बन्धी प्रश्न उठाएको छ ।
यस विषयमा नरहा गाउँपालिका–१, देवीपुरका वडाध्यक्ष अशोक महतोले आफूलाई घटनाबारे जानकारी नभएको बताएका छन् । यता, पीडित राम भरोशी मोचीले रामवृक्ष मोची, रामधनी मोची र गोपिया मोचीविरुद्ध प्रहरीमा ठाडो निवेदन दिएको जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…