सुनसरी देवानगँज प्रकरण: सार्वजनिक शान्तिविरुद्धको कसुरमा गोलबजारका वडाध्यक्ष अनवर पक्राउ
यद्यपि, वडाध्यक्ष अनवरमाथि लगाइएको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन ।

२०८३ कार्तिक ११ बुधबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालले अनवर पक्राउ परेको जानकारी दिएका छन् ।
गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।
उक्त घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रहरीका अनुसार अनवर कहिले ससुरालीमा त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए । घर आए पनि प्रहरीबाट बच्न लुक्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पार्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यद्यपि, वडाध्यक्ष अनवरमाथि लगाइएको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…