न्यूज ब्यूरो, सुनसरी । सुनसरीको देवानगञ्जमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपका क्रममा गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा पीडित पक्षले गृहमन्त्री सुदन गुरुङसँग भएको सातबुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन चर्काएका छन् ।
गृहमन्त्री गुरुङ स्वयं घटनास्थलमा पुगेर पीडित परिवार, गाउँपालिका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग सातबुँदे सम्झौता गरेका थिए । तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि त्यसको कार्यान्वयन नभएको भन्दै पीडित पक्ष आक्रोशित बनेको हो ।
यसै घटनामा गोली लागेर घाइते भएका र उपचारका क्रममा काठमाडौंको अस्पतालमा मृत्यु भएका रविन्द्र मेहताको शवसमेत चार दिनदेखि अस्पतालमै रहेको पीडित पक्षले जनाएको छ । शवको व्यवस्थापन तथा पीडित परिवारका माग सम्बोधनमा सरकारले चासो नदिएको भन्दै उनीहरूले सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
गृहमन्त्रीले पीडित पक्षसँग आफैं गरेको सम्झौताबाट पछि हटेको र सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै स्थानीयवासी तथा पीडित पक्षले शुक्रबार देवानगञ्ज पूर्णरूपमा बन्द गराएका छन् । बन्दका कारण देवानगञ्जको जनजीवन प्रभावित भएको छ ।
पीडित पक्षले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, मृतक परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र गृहमन्त्रीसँग भएको सातबुँदे सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।
सरकारले आफ्ना माग सम्बोधन नगरे र घटनाका दोषीलाई कारबाही नगरे भोलिदेखि सुनसरीमा चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी पीडित पक्षले दिएको छ । आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उनीहरूको भनाइ छ ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८३ श्रावण २३ शनिबार



