आरोप पुष्टि गर्न लक्ष्मेश्वरलाई एसपी खड्काको चुनौती, भ्रामक प्रचार गर्नेलाई कानुनी कारबाहीको चेतावनी
प्रहरीले आरोप पुष्टि गर्ने आधार प्रस्तुत गर्न चुनौती दिनुका साथै घटनासम्बन्धी विषयमा प्रचलित कानुनबमोजिम उपचारको प्रक्रियामा जाने चेतावनीसमेत दिएको छ ।

२०८३ कार्तिक १० मंगलबार, बिहान ८:५९ बजे२ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले आफू र प्रहरी संगठनमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित जिल्ला सभापति भनिएका हंसपुर नगरपालिका–८ का लक्ष्मेश्वर यादवले एक कार्यक्रममा प्रहरीमाथि लगाएको आरोपप्रति कडा आपत्ति जनाउँदै एसपी खड्काले आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत एसपी खड्काले आफूमाथि लगाइएका आरोपलाई आपत्तिजनक, कपोलकल्पित, भ्रामक, अपमानजनक र तथ्यहीन भन्दै खण्डन गरेका छन् । उनले प्रहरीको मर्यादामा आँच पुर्याउने उद्देश्यले गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, यादवले परिवारकी एक महिला सदस्य हराएको भन्दै २०८३ जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । प्रहरीले बुझ्ने क्रममा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भएको पाइएको जनाएको छ । ती महिला जेठ १४ गते आफ्ना पतिसँग गएको विषयमा समेत निवेदक र परिवारका सदस्यलाई जानकारी गराइएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार, सम्बन्धित महिला तथा परिवारका सदस्यसँग प्रत्यक्ष कुराकानी गरी विवाहसम्बन्धी प्रमाणसमेत देखाएर वास्तविक अवस्थाबारे जानकारी गराइएको थियो । तर, यादवले आफ्नै मञ्जुरीबिना विवाह भएको भन्दै सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिनुपर्ने आशय व्यक्त गरेको र प्रहरीमाथि अनुचित दबाब सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।
यादवले हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिएकोसमेत प्रहरीले आरोप लगाएको छ । प्रहरीका अनुसार, घटनाको वास्तविकता बुझाएर जानकारी गराइसकिएको अवस्थामा प्रहरीमाथि लगाइएका आरोप निराधार छन् ।
एसपी खड्काले प्रहरी संगठनको व्यावसायिकता, इमानदारी र नागरिक सेवाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउने गरी गरिएको टिप्पणीको विरोध गरेका छन् । उनले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै भ्रामक सामग्री सामाजिक सञ्जालमा जथाभावी प्रसार नगर्न आग्रह गरेका छन् ।
प्रहरीले आरोप पुष्टि गर्ने आधार प्रस्तुत गर्न चुनौती दिनुका साथै घटनासम्बन्धी विषयमा प्रचलित कानुनबमोजिम उपचारको प्रक्रियामा जाने चेतावनीसमेत दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख एसपी खड्काले जारी गरेको विज्ञप्तिमा प्रहरी संगठन र व्यक्तिगत मर्यादामाथि आँच पुर्याउने आरोपको प्रतिवाद गर्दै कानुनी प्रक्रियाबाट अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…