न्यूज ब्यूरो, सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूको व्यापक सरुवा तथा फिर्ता गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाइएको छ ।
त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ । उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ ।
सशस्त्र प्रहरी बलतर्फ पनि व्यापक हेरफेर गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाइएको छ । उनको स्थानमा सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ ।
यस्तै, सशस्त्र प्रहरी बलका एसपी श्यामकुमार कार्कीलाई पनि प्रधान कार्यालय फिर्ता बोलाएर उनको स्थानमा प्रधान कार्यालयमै कार्यरत एसपी लवकुमार सापकोटालाई जिम्मेवारी दिइएको छ ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरीसहित २४ जना घाइते भएका छन् ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरिने जनाएको छ।
नेपालका आम सर्वसाधारणमा ‘घण्टा भाइरस’ को त्रास
- २०८३ श्रावण ११ सोमबार
नेपालमा पछिल्ला केही वर्षयता एउटा नयाँ "भाइरस" फैलिएको चर्चा हुन थालेको छ । यसको नाम वैज्ञानिकहरूले होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताले राखेका हुन्:- "घण्टा भाइरस" । घण्टा भाइरसले शरीरलाई होइन, बहस गर्ने शैलीलाई
पूरा पढ्नुहोस्



