पाकिस्तानी एजेन्टलाई ह्वाट्सएपको OTP दिएको आरोपमा रक्सौलका दुई युवक पक्राउ
यस घटनामा कथित पाकिस्तानी सम्पर्क, आर्थिक कारोबार र अन्य व्यक्तिको सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेका दुवै युवक दोषी प्रमाणित भइसकेका छैनन् ।

२०८३ कार्तिक ११ बुधबार, बिहान ९:३४ बजे२ मिनेट पढाइ
न्यूज ब्युरो, भारत । भारतको बिहारस्थित रक्सौलमा पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरबाट ह्वाट्सएप खाता खोल्न आवश्यक पर्ने ओटीपी उपलब्ध गराएको आरोपमा दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वी चम्पारण जिल्लाको रक्सौलस्थित नागा रोडका २३ वर्षीय आदित्य पाण्डेय र मधुबनी जिल्लाको हरलाखीका २४ वर्षीय राजा कुमार रहेका छन् । राजा हाल रक्सौलको नोनियाडीह क्षेत्रमा बस्दै आएका थिए ।
भारतीय सञ्चारमाध्यम इन्डिया टीभी र दैनिक जागरणका अनुसार बिहार प्रहरी, बिहारको विशेष कार्यदल तथा आन्ध्र प्रदेशको विजयवाडा प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूका साथबाट दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार भारतीय मोबाइल नम्बर प्रयोग गरी ह्वाट्सएप खाता सक्रिय गर्न आवश्यक पर्ने एकपटक प्रयोग हुने पासवर्ड (ओटीपी) कथित पाकिस्तानी एजेन्टलाई उपलब्ध गराएको आरोप उनीहरूमाथि छ । त्यसबापत रकम लिने गरेको पनि प्रहरीको दाबी छ ।
दैनिक जागरणको समाचारअनुसार, अनलाइन खेल खेल्ने क्रममा राजाको एक पाकिस्तानी युवतीसँग ह्वाट्सएपमार्फत चिनजान भएको थियो । ती युवतीले ह्वाट्सएप खाता सञ्चालन गर्न सहयोग गरेबापत १० हजार भारतीय रुपैयाँ दिने प्रलोभन दिएको आरोप छ । त्यसपछि राजाले ओटीपी उपलब्ध गराएको र आफ्ना केही साथीलाई समेत रकमको प्रलोभन देखाएर यस कार्यमा संलग्न गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।
विजयवाडा प्रहरीको अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा अक्टोबर २५ मा संयुक्त टोलीले रक्सौलमा अनुसन्धान अघि बढाएको थियो । सुरुमा केही युवकयुवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र अनुसन्धानपछि दुई जनालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले बरामद मोबाइलमा ओटीपी आदानप्रदान तथा रकम भुक्तानीसँग सम्बन्धित विवरण फेला परेको दाबी गरेको छ । भारतीय मोबाइल नम्बरबाट खोलिएका ह्वाट्सएप खाताहरू साइबर ठगी वा अन्य गैरकानुनी गतिविधिमा प्रयोग भए–नभएको विषयमा अनुसन्धान भइरहेको छ ।
यस घटनामा कथित पाकिस्तानी सम्पर्क, आर्थिक कारोबार र अन्य व्यक्तिको सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेका दुवै युवक दोषी प्रमाणित भइसकेका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…