न्यूज ब्यूरो, जनकपुरधाम । मोबाइलको घण्टी बज्छ । पूजा साहको मुटु एकाएक ढक्क फुल्छ । कतै श्रीमान् अजयको खबर त आएन ?
अपरिचित नम्बर देखिए पनि उनको मनले त्यही एउटा आवाज खोज्छ– ‘पूजा, म सुरक्षित छु ।’
तर फोन उठाउँदा प्रायः निराशा मात्र हात लाग्छ । अजयको खबर आउँदैन ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले धेरैको घर उजाडेको छ । कसैको आफन्त गुमेको छ, कसैको अझै अत्तोपत्तो छैन । यही भीडमा धनुषाको कमला नगरपालिका–६ का ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंहको परिवार पनि छ, जसको प्रतीक्षा दिनसँगै झनै भारी बन्दै गएको छ ।
दोसान हाइड्रोपावर परियोजनामा कार्यरत अजय बाढी आएपछि सम्पर्कविहीन भएका हुन् । बाढीले रसुवाको जनजीवन तहसनहस बनाएसँगै उनीसँग परिवारको सम्पर्क टुटेको हो । त्यसयता पूजाले श्रीमान्को आवाज सुन्न पाएकी छैनन् ।
पूजाका लागि यो केवल श्रीमान्को खोजी होइन, आफ्नो जीवनसाथीको प्रतीक्षा हो ।
अझ ठूलो कुरा, उनको काखमा अहिले दुई महिनाकी छोरी छिन् ।
बच्चीले बाबुको अनुहार चिनेकी पनि छैनन् । बाबुको आवाज सुनेकी पनि छैनन् । तर पूजाको मनमा एउटै विश्वास छ- ‘उहाँ फर्किनुहुन्छ ।’
अजय र पूजाले करिब एक वर्षअघि विवाह गरेका थिए । विवाहपछि उनीहरूको जीवनमा नयाँ खुसी थपियो । केही समयअघि मात्र उनीहरूको घरमा छोरी जन्मिइन् । छोरी जन्मिएको खुसी राम्ररी सेलाउन नपाउँदै रसुवाबाट आएको बाढीको खबरले त्यो परिवारलाई शोक, चिन्ता र अनिश्चितताको घेरामा पुर्यायो ।
पूजा अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आउने प्रत्येक समाचार नियाल्छिन् । उद्धार टोली पुगेको खबर आउँदा आशा पलाउँछ । कसैको उद्धार भएको खबर आउँदा ‘अजय पनि भेटिनुहोला’ भन्ने विश्वास बलियो हुन्छ ।
तर अर्को क्षण फेरि प्रश्न उभिन्छ– अजय कहाँ छन् ?
‘आजको दिन पनि बित्यो, तर मेरो श्रीमान्को कुनै खबर आएन । उहाँको क्याम्प आसपास, विशेषगरी पश्चिम–उत्तरतर्फको भागमा अहिलेसम्म उद्धार टोली पुगेको छैन र त्यहाँबाट कुनै जानकारी पनि सुनिएको छैन,’ पूजाले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
उनको आग्रह एउटै छ– अजयसम्म उद्धार टोली पुगाइदिनुस् ।
‘मेरो श्रीमान् अझै पनि उद्धारको आशामा हुनुहुन्छ भन्ने विश्वास छ । भगवानले उहाँलाई जहाँ भए पनि सुरक्षित राखुन् । कृपया उहाँसम्म उद्धार टोली छिटोभन्दा छिटो पुगाइदिनुहोस्,’ उनले लेखेकी छन् ।
दिन बित्दै जाँदा आँशु पनि थाक्छन् । तर आशा थाक्दैन ।
पूजाको अवस्था अहिले यही छ ।
श्रीमान्को खबर पर्खिंदै काखमा सानी छोरी च्यापेर बसिरहेकी पूजा कहिले मोबाइल हेर्छिन्, कहिले टेलिभिजनमा समाचार खोज्छिन् । कतै अजयको नाम आउँछ कि ? कतै उद्धार भएको सूचीमा उनको नाम भेटिन्छ कि ?
घरमा पनि अवस्था उस्तै छ । अपरिचित नम्बरबाट फोन आउँदा परिवारका सदस्यको नजर एकाएक मोबाइलतिर जान्छ । केही खबर आयो कि भन्ने आशा जाग्छ । तर धेरैपटक त्यो आशा केही क्षणमै निराशामा बदलिन्छ । त्यसपछि फेरि सुरु हुन्छ अर्को फोनको प्रतीक्षा ।
अजयको खोजी केवल उनको परिवारको मात्र विषय होइन । रसुवाको बाढीपछि मधेशका विभिन्न जिल्लाबाट पुगेका ठूलो संख्याका मानिस सम्पर्कविहीन छन् । मधेश प्रदेश प्रहरीको विवरणअनुसार पछिल्लो विवरणमा १७० जना अझै सम्पर्कविहीन रहेको जनाइएको थियो । तीमध्ये धनुषाका अजय सिंह पनि छन् ।
यस्तो अवस्थामा प्रत्येक उद्धारको खबरले आशा जगाउँछ ।
रसुवाको सुरुङबाट केही दिनपछि पनि मानिसहरू जीवितै उद्धार भइरहेका खबरले अजयको परिवारको आशालाई पनि बल दिएको छ । कठिन भौगोलिक अवस्था, बाढीले बगाएका सडक र सञ्चार सम्पर्कको समस्याका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । तर परिवारका लागि एउटा कुरा अझै बाँकी छ– आशा ।
पूजाको आँखामा अब आँशु कम देखिन्छ ।
तर त्यसको अर्थ उनले हार मानेकी छैनन् ।
बरु उनी अझै भनिरहेकी छन्– ‘उहाँ आउनुहुन्छ ।’
काखमा रहेको सानी छोरीलाई हेर्दै उनी शायद त्यही दिनको प्रतीक्षामा छिन्, जुन दिन ढोकामा अजय उभिएर भन्नेछन्– ‘पूजा, म आएँ ।’
त्यो एउटा आवाजका लागि पूजा अझै प्रतीक्षामा छिन् ।
आँशु सुक्न सक्छ ।
दिनहरू बित्न सक्छन् ।
तर अजय फर्किने आशा अझै सुकेको छैन ।
चारै शहिदलाई पूर्व न्यायधिश डा.सल्लाहुदिन सिद्धिकीले भने उपद्रवी, शहिद घोषणाले शहिदको अपमान भएको दाबी
- २०८३ भदौ १९ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् । उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको
पूरा पढ्नुहोस्


