मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन आज भारत जाँदै, भोलि उच्चस्तरीय वार्ता
दुईदिने भ्रमण सम्पन्न गरी उनी सोमबार बेलुका नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कनेछन् ।

२०८३ मंसिर ६ आइतबार, बिहान ९:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली जाँदैछन् ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाल वायुसेवा निगमको विमानबाट प्रधानमन्त्री शाहसहितको टोली दिउँसो पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ । टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन् ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन् ।
भ्रमणको मुख्य आकर्षण सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता रहनेछ । त्यस्तै, आजै भारतीय विदेशमन्त्री डा। एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा नेपाल–भारतबीच व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ । दुवै देशबीच ऊर्जा सहकार्य र सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत छ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यका लागि विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर, सरकारको नीतिगत दृष्टिकोण र लगानीमैत्री वातावरण निर्माणका प्रयासबारे जानकारी गराउनेछन् ।
प्रधानमन्त्री शाहले सोमबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । दुईदिने भ्रमण सम्पन्न गरी उनी सोमबार बेलुका नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कनेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…