मँसिर ८ गते कमला नदीमा भव्य 'देवता मेला' लाग्दै, धामी झाँक्रीसहित लाखौँ भक्तजन कमला स्नान गर्ने
कमला नदीलाई गंगासरह पवित्र मान्ने धार्मिक विश्वासका कारण यस दिन स्नान, दान र पूजा गर्नाले परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।

२०८३ मंसिर ६ आइतबार, बिहान ९:२२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाको विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको कमला नदीको देव मेला यस वर्ष मंसिर ९ गते मंगलबार लाग्ने भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीका विभिन्न घाटमा देव मेला आयोजना हुनेछ ।
यस वर्ष अंग्रेजी मिति नोभेम्बर २४ अर्थात् मंसिर ८ गते कार्तिक पूर्णिमा परेको छ ।
हरेक वर्ष कार्तिक पूर्णिमाका दिन लाग्ने यस मेलामा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, सप्तरीलगायत मधेशका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत धामी, झाँक्री, भगता र श्रद्धालुहरू सहभागी हुने गर्छन् ।
मेलामा कमला नदीमा स्नान गरी देवताको पूजा–आराधना गर्ने, मन्त्र सिद्धि गर्ने तथा कुलदेवताको पूजा गर्ने परम्परा छ । विशेषगरी धामी–झाँक्रीहरूले वर्षभरि सिकेको तान्त्रिक विद्या सिद्ध गर्ने र देवतालाई स्थायी बासका लागि निमन्त्रणा गर्ने धार्मिक मान्यता रहिआएको छ ।
स्थानीय भाषामा 'महराई' भनिने लोकभाकामा गीत गाउँदै धामी तथा भगताहरू ढोल, घण्टी र घुँघरू बजाएर कमला नदी पुग्ने गर्छन् । उनीहरू नदीमा स्नान गरी पूजापाठ गर्ने र कमला नदीको जल घर लैजाने परम्परा पनि छ ।
सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर तथा धनुषातर्फका सघारा, टरिया, लकडालगायतका घाटमा श्रद्धालुको ठूलो भीड लाग्ने गरेको छ ।
कमला नदीलाई गंगासरह पवित्र मान्ने धार्मिक विश्वासका कारण यस दिन स्नान, दान र पूजा गर्नाले परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।
मिथिलाको लोकसंस्कृति, तान्त्रिक परम्परा र धार्मिक आस्थासँग जोडिएको देव मेला पछिल्लो समय मधेशको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा समेत स्थापित हुँदै गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…