गोलबजार व्यापार संघमा एमाले समर्थित महेश साहको पुरै प्यानल विजयी, घण्टी समर्थित गुप्ता पराजित
निर्वाचन अधिकृत सुरेश साहका अनुसार कुल १ हजार ६०३ मतदाता रहेको संघको निर्वाचनमा १ हजार ४१६ मत खसेको थियो । त्यसमध्ये ८ मत पूर्ण रूपमा बदर भएको थियो ।

२०८३ मंसिर ६ आइतबार, राति ८:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा नेकपा ९एमाले० सहितका राजनीतिक दलको समर्थन प्राप्त महेश साह (कोक्वा) प्यानलसहित निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थित उम्मेदवार राजु गुप्तालाई २५० मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा साहले ७९४ मत प्राप्त गर्दा गुप्ताले ५४४ मत मात्र प्राप्त गरे । साहको प्यानललाई नेकपा, नेकपा एमाले र नेपाली कांग्रेसको एउटा समूहले समर्थन गरेको थियो भने गुप्तालाई रास्वपासहित कांग्रेसको अर्को समूहको समर्थन रहेको थियो ।
निर्वाचनमा साह प्यानलका अन्य पदाधिकारीले पनि जित हासिल गरेका छन् । प्रथम उपाध्यक्षमा रामप्रमोद यादव ७६८ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी आनन्दकुमार यादवले ६०६ मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा मो. सदाब खान ६८८ मतसहित निर्वाचित भए । उनले प्रतिस्पर्धी ओमप्रकाश साहलाई जम्मा ५ मतले पछि पारे । ओमप्रकाशले ६८३ मत प्राप्त गरे ।
महासचिवमा अरविन्दकुमार सिंह ७५६ मतसहित विजयी हुँदा वीरेन्द्र सिंह (बैजु) ले ६२५ मत पाए । कोषाध्यक्षमा कपिलदेव साह ७७२ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रकाश साहले ५८९ मत प्राप्त गरे ।
सदस्यमा अमरकुमार मण्डल, सञ्जय साह, वीरेन्द्रकुमार साह, मो. सहबाजुद्दीन, नागरेश्वर राय, सरोजकुमार साह, मुन्द्रिका कुमारी झा र पिंकी कुमारी मुखिया निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत सुरेश साहका अनुसार कुल १ हजार ६०३ मतदाता रहेको संघको निर्वाचनमा १ हजार ४१६ मत खसेको थियो । त्यसमध्ये ८ मत पूर्ण रूपमा बदर भएको थियो ।
यस निर्वाचनलाई गोलबजारमा राजनीतिक दलहरूको स्थानीय प्रभाव र व्यावसायिक मतदाताबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । विशेषगरी एमालेसहितका दलको समर्थनमा उत्रिएका महेश साह र रास्वपाको समर्थन प्राप्त राजु गुप्ताबीच अध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…