रास्वपा र सरकारबीच विवाद छैन, आलोचना आन्तरिक लोकतन्त्रको उदाहरण हो : रवि लामिछाने
प्राप्त जनमतबाट पनि मधेशका जनताले परिवर्तनको आशा र अनुभूति गर्न नसके आफूहरू जनतामाझ मत माग्न आउने नैतिक आधार नरहने आशय व्यक्त गरे ।

२०८३ कार्तिक २९ आइतबार, बिहान ८:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको दाबी गरेका छन् ।
शनिबार जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारलाई पार्टीले दिने सल्लाह, सुझाव र आलोचनालाई विवाद वा फुटको संकेतका रूपमा बुझ्न नहुने बताएका हुन् ।
उनले कहिलेकाहीँ सरकारलाई सुझाव दिँदा वा आलोचना गर्दा ठूलो हल्लाखल्ला हुने गरेको उल्लेख गर्दै त्यस्ता चर्चामा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए । सरकार आफ्नै प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित भएर अघि बढिरहेको उनको भनाइ थियो ।
सरकारलाई पार्टीले गर्ने आलोचना र सुझावलाई बलियो आन्तरिक लोकतन्त्रको उदाहरणका रूपमा बुझ्न उनले आग्रह गरे । लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले रास्वपाले पक्ष र विपक्षमा हुने बहसलाई सकारात्मक रूपमा लिने गरेको उनले बताए ।
यसैबीच, लामिछानेले यसपटक जनताले रास्वपालाई परिवर्तन गर्ने अवसर दिएको उल्लेख गर्दै मधेशको जीवनस्तरमा परिवर्तन ल्याउन नसके अर्को पटक भोट माग्न नआउने अभिव्यक्ति दिएका छन् ।
उनले अहिले प्राप्त जनमतबाट पनि मधेशका जनताले परिवर्तनको आशा र अनुभूति गर्न नसके आफूहरू जनतामाझ मत माग्न आउने नैतिक आधार नरहने आशय व्यक्त गरे ।
जनतालाई झुक्याएर भोट माग्ने राजनीतिक चरित्र आफूलाई स्वीकार्य नरहेको बताउँदै उनले मधेशी जनताको जीवनमा परिवर्तन ल्याउने आशा, भरोसा र विश्वासका साथ प्राप्त अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…