जनकपुरधाम-अयोध्या रेल सँचालनको मिति तय, मोदी र बालेनले सँयुक्त उदघाटन गर्ने
निमन्त्रणा पत्रमा रेलको नियमित सञ्चालन मिति, समयतालिका, भाडादर र जनकपुरधामसम्मको वास्तविक सेवा व्यवस्थाबारे विस्तृत विवरण खुलाइएको छैन ।

२०८३ कार्तिक २८ शनिबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको अयोध्या र नेपालको जनकपुरधामबीच नयाँ वन्दे भारत एक्सप्रेस रेल सञ्चालन गर्ने तयारी गरिएको छ । उक्त रेल सेवाको शुभारम्भ आगामी नोभेम्बर २३ (मंसिर ७) गते गरिने निमन्त्रणा पत्र सार्वजनिक भएको छ ।
उत्तर रेलवे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयले जारी गरेको निमन्त्रणा पत्रअनुसार अयोध्या रेलवे स्टेसनमा आयोजित कार्यक्रममा नयाँ वन्दे भारत एक्सप्रेसलाई हरियो झण्डा देखाएर शुभारम्भ गरिनेछ ।
कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भिडियो कन्फरेन्समार्फत सहभागिता जनाउने उल्लेख छ ।

त्यस्तै, कार्यक्रममा उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र ब्रजेश पाठक, सांसद अवधेश प्रसाद, महन्त गिरिशपति त्रिपाठी तथा विधायक वेदप्रकाश गुप्तालगायतको गरिमामय उपस्थिति रहने निमन्त्रणा पत्रमा उल्लेख छ ।
नोभेम्बर २३ मा अपराह्न अयोध्या रेलवे स्टेसनमा कार्यक्रम आयोजना हुने जनाइएको छ ।
जनकपुरधाम र अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । विशेषगरी रामायण सर्किटसँग जोडिएका यी दुई धार्मिक नगरीबीच रेल सेवा सञ्चालनले दुई देशबीचको धार्मिक पर्यटन तथा आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
यद्यपि, निमन्त्रणा पत्रमा रेलको नियमित सञ्चालन मिति, समयतालिका, भाडादर र जनकपुरधामसम्मको वास्तविक सेवा व्यवस्थाबारे विस्तृत विवरण खुलाइएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…