हुलाकी राजमार्गमा क्रोनिक ठेक्का तोडिँदै
उनले भने, “अदालतबाट निर्णय आएपछि मात्रै नयाँ ठेक्कामा जान सकिन्छ ।” आयोजनाअन्तर्गतका पाँच पुलमा भने निर्माणको काम भइरहेको छ ।

२०७७ फागुन २६ बुधबार, बेलुकी ६:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माण अवरुद्ध भएका पुलको ठेक्का तोड्न थालिएको छ ।
निर्माण शुरु भएको १० वर्षसम्म सम्पन्न नभएका पाँच पुलमध्ये तीनको ठेक्का तोडिसकिएको छ भने दुई पुलको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ ।
आयोजनाको सबैभन्दा ठूलो चुनौतीका रुपमा पुलको क्रोनिक ठेक्का रहेको थियो । एक दशक पहिले निर्माण शुरु भए पनि अघि नबढेका पुलको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
गत वर्षसम्म यस्ता क्रोनिक ठेक्का १० वटा रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए । उनका अनुसार निर्देशनालयले दुईको ठेक्का तोड्ने निर्णय गरेको थियो ।
सो निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा गएकाले मुद्दा विचाराधीन भएको उनले बताए ।
उनले भने, “अदालतबाट निर्णय आएपछि मात्रै नयाँ ठेक्कामा जान सकिन्छ ।” आयोजनाअन्तर्गतका पाँच पुलमा भने निर्माणको काम भइरहेको छ ।
१०/११ वर्ष पुरानो पुलमा अहिले निर्माण भइरहेकाले अवधि थप भएको छ । कमला र दलान नदीमा पुल सम्पन्न क्रममा रहेको छ । यी दुवै पुलको लम्बाइ ५०० मिटर छ । उनले भने, “यही वर्ष नै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।”
आयोजनाअन्तर्गत अहिलेसम्म २४५ पुल रहेका छन् । अहिलेसम्म ७५ पुल सम्पन्न भएर प्रयोगमा आइसकेका छन् । पचहत्तर पुल डिजाइनका क्रममा र ९५ पुल निर्माणाधीन छन् ।
सडक बने पनि कतिपय स्थानमा पुल नबनेकाले सो सडकको प्रयोगकर्तालाई आवतजावत सजिलो भएको छैन । कतिपय स्थानमा पहिले भएका साँघुरा पुलमा पनि सवारीसधन र पैदलयात्रु आवतजावत गरिरहेका छन् ।
ती स्थानमा पुल निर्माणपछि आवतजावत सहज हुने अपेक्षा गरिएको छ । आयोजना आर्थिक वर्ष २०७९÷८० सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सोही अवधिसम्ममा नै निर्माणाधीन र निर्माण शुरु नभएका पुलसमेत सम्पन्न गर्नुपर्ने चुनौती छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…