दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए
अहिले तोकिएका भन्दा अरु अस्पतालले पनि खोप सञ्चालन गर्न चाहेमा कामपाले समन्वय गरेर त्यस्ता अस्पतालमा पनि केन्द्र सञ्चालन गर्न सकिने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

२०७७ फागुन २१ शुक्रबार, बिहान ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ ।
खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ । वडा छुट्याएर केन्द्र तोकिए पनि परिचय खुल्ने फोटोसहितको परिचयका आधारमा पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने कामपाको भनाइ छ ।
खोप केन्द्र तोकिएका अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, मदरल्याण्ड अस्पताल सिनामङ्गल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल, ओम अस्पताल एण्ड रिसर्च सेन्टर, स्तुपा अस्पताल बौद्ध, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल नक्साल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र जनमैत्री अस्पताल बालाजु छन् ।
अहिले तोकिएका भन्दा अरु अस्पतालले पनि खोप सञ्चालन गर्न चाहेमा कामपाले समन्वय गरेर त्यस्ता अस्पतालमा पनि केन्द्र सञ्चालन गर्न सकिने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
खोप लगाउनुपूर्व कामपाको ३२ वटै वडामा रहेका लाभग्राहीको सङ्ख्या पूर्वानुमान गर्नुपर्ने, सूक्ष्म व्यवस्थापनमा काम गर्नुपर्ने, अशक्त भएका व्यक्तिलाई कसरी खोप दिनेबारे यकिन गर्नुपर्ने, स्वयंसेवकको सङ्ख्या बढाउनुपर्ने, वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि सक्रिय बनाउने प्रवक्ताको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…