प्रदेश २ः प्रहरीले ५०५ अपराधीलाई समाते
यस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७७ फागुन ९ आइतबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय मो. सहादतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको तथ्याङ्कमा उल्लेख छ ।
पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष छ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको बक्यौता रु १२ लाख ७७ हजार ७२६ असुली गरिएको जिल्ला प्रहरी कार्यालय प्रनाउ साहको भनाइ छ । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको उनले बताए।
त्यस्तै यस अवधिमा भन्सार छली गरी भित्र्याइएका ८८ मोटरसाइकल, आठ अटोरिक्सा, पाँच ट्र्याक्टर, तीन पिकअप तथा दुई टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सवारीसाधनको रु दुई करोड ३४ लाख १७ हजार ५७२ अनुमानित मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…