प्रदेश नं २ मा पहिलो भ्याक्सीन लगाउँदै मन्त्री यादवले भने- "कुनै साइड इफेक्ट छैन"
मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् छ भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन् ।

२०७७ माघ १४ बुधबार, बेलुकी ५:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि प्रदेश नं २ मा पनि शुरु भएको छ । प्रदेशका आठ वटै जिल्लाबाट एकैसाथ यो अभियान प्रारम्भ भएको हो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाउनुभएको छ । मन्त्री यादव यसअघि कोरोना पोजेटिभसमेत भएका थिए ।
खोप लगाएपछि मन्त्री यादवले कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह गरे । “खोपको साइड इफेक्ट छैन । भए पनि अत्यन्त न्यून छ । त्यही भएर डराउनुपर्ने र हच्किनुपर्ने अवस्था छैन”, उनले भने, “स्वास्थ्यकर्मीको सल्लाह अनुसार सबैजनाले खोप लगाउनुहोस्, कोरोना सङ्क्रमण अन्त्य नभएको र यसको अर्को विकल्प पनि नभएकाले खोप नै विश्वसनीय उपाय हो ।”
प्रदेश नं २ कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी जोखिममा रहेको स्मरण गर्दै मन्त्री यादवले त्यस बेला यो प्रदेशका मानिसलाई हेरेर अन्य प्रदेशका मानिस तर्सिरहेको र संवेदनहीन वक्तव्य पनि दिने गरेको बताए ।
आफ्नो ज्यान जोखिममा राखेर कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सक्रिय रुपमा लाग्नुहुने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायत सबैलाई उनले धन्यवाद दिए ।
एउटा योद्धाले युद्ध मैदानमा काम गरेजस्तै काम गर्दा कोरोना भाइरस सङ्क्रमणलाई रोक्न सफल भएको उनको भनाइ छ । हामीजस्तो विकासशील देशमा एक वर्षभित्रै खोप आउनु ठूलो उपलब्धी रहेको भन्दै उनले दुःखको बेला सहयोग गर्ने छिमेकी मुलुक भारतलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद समेत दिए ।
कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि धनुषाको जनकपुरधाम, पर्साको वीरगञ्ज र सप्तरीको राजविराजबाट एकैसाथ शुरु भएको हो ।
जनकपुरधाममा प्रादेशिक अस्पताल, वीरगञ्जमा नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट अभियान शुरु भएको हो । वीरगञ्जमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा समाजिक विकास मन्त्री नवलकिशोर साहले सो अभियानको शुभारम्भ गरेका थिए ।
मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् छ भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…