मिर्चैयाका नयाँ डिएसपी श्रेष्ठ भन्छन् : ‘प्रहरी मेरो साथी’ नारालाई पूर्णत व्यवहारमा लागू गर्छु'
प्रलोभनमा पर्ने र अपराधीलाई उन्मुक्ति दिने मेरो डायरीमा छैन

२०७७ माघ १० शनिबार, बिहान १०:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो,सिरहा । सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाका नयाँ प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठले नेपाल प्रहरीको ‘प्रहरी मेरो साथी’ अभियानलाई पूर्णत व्यवहारमा लागू गर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगंज, काठमाडौंबाट सरुवा भएर इन्चार्जको रुपमा भर्खरै मिर्चैयामा आएका डिएसपी श्रेष्ठले प्रहरी नागरिकको साथी हो भन्ने कुरा सबैलाई अनुभूत गराउने बताएका हुन् । नागरिकको सुरक्षा नै आफ्नो मुख्य उद्देश्य भएको उनले बताए ।
शान्ति सुरक्षा बिना विकास पनि असम्भव रहेको भन्दै आफ्नो सपना नै अपराध रहित समाज भएको उनी बताउँछन् । उनले नागरिकलाई सुरक्षा दिने विषयमा आफूले कुनै कसर बाँकी नराख्ने बताए । यहाँ शान्ति सुरक्षा दिने विषयमा कुनै सम्झौता नहुने र स्थानीय निकाय तथा नागरिकसँग मिलेर अघि बढ्ने उनले बताए ।
डिएसपी श्रेष्ठले आफू अहिले यहाँ नयाँ भएकाले यहाँको बारेमा घुलमिल हुन केही समय लाग्ने भएता पनि यस क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न आफू पूर्ण रूपमा लाग्ने बताए । उनले विभिन्न श्रोतबाट आएको गुनासोलाई सम्बोधन गरेर अगाडि बढ्ने बताए ।
कानुनभन्दा माथि कोही पनि नभएकाले दोषी र अपराधिक क्रियाकलापमा संलग्न जोसुकैलाई पनि नछोड्ने उनले बताए । अप्ठ्यारा अपरेशन र गहन अनुसन्धानमा दख्खल मानिने उनी प्रलोभनमा पर्ने र अपराधीलाई उन्मुक्ति दिने कुरा आफ्नो डायरीमा नभएको बताउँछन् ।
‘म यहाँ काम गर्न आएको हुँ, मलाई कुनै लोभ लालचा छैन । गुण्डागर्दी, तस्करी, कालोबजारी गर्नेलाई म छोड्ने छैन । मेरो संगठन भित्र कसैले गलत गर्छ भने त्यसलाई पनि म कारवाही गर्छु,’ डिएसपी श्रेष्ठले भने, ‘कुनै अपराध गरिरहेको व्यक्तीले शिर ठाडो बनाएर हिंडेको म हेर्न सक्दिन । सबैले मलाई साथ दिनुहोस्, म सामाजिक अपराध, आर्थिक अपराध हरेक खाले अपराध नियन्त्रण गरेर देखाउँछु । कसैका छोराछोरी कुलतमा फेसका छन् भने कुलतबाट जोगाउन मद्दत गर्छु ।’
डिएसपी श्रेष्ठले शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउनु आफ्नो पहिलो कर्तब्य रहेको बताउँदै कानुन भन्दा बाहिर जाने जो कोही पनि आफुबाट उम्कन नपाउने बताए । आफूले यहाँ तत्कालै गर्नुपर्ने कामको कार्यतालिका समेत बनाइसकेको उनले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…