लहानमा डिएसपी थापाको कार्यकाल : जनतालाई आराम, नेताको निद्रा हराम !
यसैगरी, पक्की टोल प्रहरी चौकीका लागि नयाँ पक्की घर निर्माणाधिन अवस्थामा छ । धनगढीमाई नगरपालिका १२ विष्णुपुरकट्टिका प्रहरी चौकीका लागि पनि ५ कठ्ठा जग्गा बाटोसहित प्राप्त गरेका छन् । त्यसैगरी पहिलेको जग्गामा ४ धुर थपेर भगवानपुर गाउँपालिकाको ठाडी प्रहरी चौकीमा काम अगाडी बढाइएको छ ।

२०७७ पुस २५ शनिबार, बिहान ११:०३ बजे६ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । घडीको सुई १ लेखिएको बिन्दुमा जाँदैछ । गेटमा प्रहरी, भित्र पनि प्रहरी अनि सर्वसाधारण । प्रहरी कार्यालयको द्वारबाट दुई जना सर्वसाधारण गफिँदै निस्किरहेका छन् । उनीहरूमध्ये एकले अर्कालाई भनिरहेका छन्, 'यहाँका प्रहरी कति राम्रो है, थाना आएको महशुसै हुँदैन ।'
अर्काले जवाफ फर्काउँछन्, 'हो नि, यस्तो पो प्रहरी ।' कार्यालय परिसरमा सर्वसाधारणहरु छन् । उनीहरू प्रहरी कर्मचारीहरुसँग काम गराउँदै व्यस्त छन् । कार्यालय भित्र पस्दा डिएसपी आफ्नो कक्षमा सेवाग्राहीका फाइल हेर्दै उनका समस्या सुन्दैछन् ।
त्यतिकैमा तीनजना फेरि आउँछन् । 'के काम होला हजुर' भन्दै डिएसपी बोलाउँछन् । उनीहरूका समस्या सुन्छन् । इन्सपेक्टरलाई बोलाउँछन्, जय नेपाल भन्दै सलाम ठोक्दै उनी डिएसपी नजिक आइपुग्छन् ।
डिएसपीले इन्सपेक्टरसँग २ मिनेट जति कामकै सेरोफेरोमा गफिन्छन्, जानकारी लिन्छन् । त्यसपछि ती फाइलहरु उनले इन्सपेक्टरलाई दिन्छन्, काम अगाडी बढाउन इन्सपेक्टरलाई निर्देश गर्छन् । इन्सपेक्टरले सेवाग्राहीलाई मसँग आउनुस् भन्दै बोलाउँछन् । 'चिन्ता लिनुपर्दैन, हामी गर्छौं' भन्दै डिएसपीले पनि सेवाग्राहीलाई जान भन्छन् ।
उनीहरूलाई इन्सपेक्टरले अपराध अनुसन्धान शाखामा लग्छन् । उनीहरूसँग हाँस्दै गफिन थाल्छन् । सेवाग्राही पनि मुस्की मुस्की कुरा गर्छन् । प्रहरी कर्मचारीहरु काममा व्यस्त छन् । त्यही कोठामा रहेका अन्य दुई जना सर्वसाधारण प्रहरीलाई धन्यवाद भन्दै निस्कन्छन् ।
लगत्तै एकजना हराएका एक बच्चा लिएर प्रहरी कार्यालय आउँछन् । बच्चा रुइराखेका हुन्छन्, त्यहाँ भीडभाड लाग्छ । बच्चा र बच्चा लिएर आएका ती व्यक्तिलाई डिएसपीले एकछिन सोधपुछ गर्छन् । उनले आफ्ना प्रहरी कर्मचारीलाई बोलाउँछन्, एकजना महिला प्रहरी आउँछिन् ।
डिएसपीले बच्चाका लागि फ्रुटी मगाउँछन् । बच्चालाई डिएसपीले आफ्नो छेउ तान्दै 'बाबू खाउ' भन्दै दिन्छन् । उनले बच्चा लिएर आएका पुरुषलाई धन्यवाद दिँदै जान भन्छन् । उनी जान्छन् । त्यसपछि डिएसपीले फोन दौडाउन थाल्छन् ।
यो दृश्य हो, इलाका प्रहरी कार्यालय, लहान सिरहाको । नेपाल प्रहरीले मुस्कान सहितको सेवा दिइरहेको भनिएपनि प्रहरी कार्यालयमा सर्वसाधारण अझै जान डराउँछन् । प्रहरी झर्केर बोल्ने, सेवाग्राहीलाई थर्काउने जस्ता स्वभावका कारण सर्वसाधारणमा प्रहरीप्रतिको प्रतिक्रिया पनि त्यति राम्रो पाइँदैन ।
तर, कतिपय प्रहरी यस्ता हुन्छन्, जसले आम सर्वसाधारणसँग मित्रवत् व्यवहार गर्छन् । इमानदारीले काम गर्छन् । यो सबै डिपेन्ड पर्ने भनेको कार्यालय इन्चार्जमाथि हो ।
जनताको वास्तविक सेवक भएर गर्नु र अपराधमुक्त समाज नै आफ्नो मुख्य उद्देश्य रहेको बताउँछन् इप्रका लहानका प्रहरी नायव उपरीक्षक (डिएसपी) शरत कुमार थापा क्षेत्री । राम्रालाई न्याय र नराम्रालाई कारवाही भन्ने सोचाई भएका डिएसपी थापा संगठनमा निकै इमान्दार र सक्षम प्रहरी अधिकृत गनिन्छन् ।
उनी यहाँ इन्चार्ज बनेर आएको एक वर्ष भयो । कार्यकाल अवधि सकाइसकेका उनको सरुवा पनि भइसकेको छ । प्रहरी प्रधान कार्यालयले उनलाई महानगरीय प्रहरी परीसर, ललितपुर पठाएको छ । नियमित सरुवाको एकवर्षे कार्यकाल अन्तर्गत यो स्वाभाविक प्रक्रिया हो । यहाँका लागि नयाँ तोकिएका डिएसपी डा. तपन कुमार दाहाल केही दिनमा आइसकेपछि उनी यहाँबाट जाँदैछन् ।
संगठनको निर्देशन वमोजिम उनी सरुवा भएर लहान आउनु र यहाँबाट जानु ठूलो विषय भएन । तर, यहाँ बसुञ्जेल इन्चार्जको भूमिकामा रहेका थापाको कार्यसम्पादन र कार्यकाल कस्तो रह्यो, मुख्य विषय यो हो । लहान सिरहा जिल्लाकै हब भनेर चिनेने शहर हो । इलाकाको कामबाट जिल्लाले मात्र होइन, क्षेत्रीय कार्यालय हुँदै प्रहरीको केन्द्रिय कार्यालयसम्मले जस लिने गरेको छ ।
लहान क्षेत्रमा हुने अधिकांश ठूला घटनामा सफलता नै उनको लहान बसाइको मुख्य सफलता रह्यो । 'यहाँ हुँदा मैले कानुनी परिधिभित्र रही राज्य र जनताको पहरेदार बनेर काम गर्ने प्रयत्नमा सधैं रहेँ,' उनले भने, 'बाँकी सेवाग्राही र यहाँका बासिन्दाले यसको मुल्याकंन गर्नेछन् ।'
भनिन्छ, तराई–मधेश प्रहरी कार्यालयहरुमा मुद्दा धेरै आउने गर्छन् । केही वास्तविक त केही रिसिइबी साध्ने प्रवृत्तिले आउँछ । जसमा नेताहरु भाजो हाल्छन् । भोटको राजनिति गर्न थाल्छन् । प्रहरीलाई उपयोग गरी जनतालाई मुद्दाका नाममा तर्साउने धम्काउने गर्छन् ।
प्रहरी पेशामा चुनौती अनेक भएपनि आफूले कसैको दबाब प्रभावभन्दा परै रहि काम गर्ने गरेको डिएसपी थापा बताउँछन् । उनी भन्छन्, 'चुनौतीहरु अनेक हुन्छन्, तर मैले ठूला मान्छे वा अन्य कसैको सिफारिस होइन, वास्तविकतालाई सर्वोपरि ठान्छु । हो, खराबका लागि खराब छु, तर अन्यायमा परेकालाई न्याय दिलाउन दिनरात नभनी काम गर्छु,' उनी थप्छन्, 'कहिलेकाहीँ अपराधमा संलग्नहरु नै बदनाम गर्न पनि खोज्छन्, तर म दृढतापूर्वक अघि बढ्ने क्रम भने रोक्दिन ।'
संगठन सुधार्नुपर्छ भन्ने स्वभावका डिएसपी थापा मुस्कान सहितको सेवालाई प्रहरीले पूर्णत पालना गर्नुपर्ने र जनतालाई वास्तविक रक्षकको अनुभूति दिलाउन चुक्न नहुने धारणा राख्छन् ।
'डिएसपी थापा राजनीति दलको नेताको चपेटामा पर्नुभन्दा परै हुनुहुन्थ्यो, उहाँ जनताको वास्तविक घटनामा अग्रसर भएर अनुसन्धान बढाउँनुहुन्थ्यो,' अधिकारकर्मी राजकुमार राउत कुर्मी भन्छन्, 'अन्यायमा कसैलाई पार्ने काम गर्नुहुँदैन्थ्यो ।' उनले डिएसपी थापालाई घटनाहरुलाई कानुनी दायरामा रहेर भूमिका निभाएका प्रहरी हाकिमको रुपमा मूल्यांकन गर्छन् ।
यसरी नै सकरात्मक काम गरेर प्रहरी संगठन र समाज सुधारको अभियानमा लाग्न सबैलाई उनी सुझाँछन् ।
डिएसपी थापा लहान रहेर एकवर्षमा के-के गरे ?
इप्रका लहानमा आर्थिक वर्ष २०७६/०७७ मा २४९ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । जसमध्ये १६९ वटा फस्र्यौट भएका छन् । अधिकांश मुद्दा डिएसपी थापाकै पालामा टुंगो लागेको छ । उनी लहानमा ०७६ पुस १५ गतेदेखि आएका थिए । चालु आर्थिक वर्ष ०७७/०७८ को हालसम्ममा ११५ वटा मुद्दा दर्ता भएको छ, जसमा ५० वटा फस्र्यौट भएको छ ।
चालु आवमा लागुऔषधको ४९ वटा मुद्दामा ६१ जना प्रतिवादीहरुलाई पक्राउ गरेका छन् । उनीहरुको साथबाट ११८ किलो गाँजा, ५१३ ग्राम ब्राउन सुगर, २०० मिलिग्राम सेतो हिरोइन, १४०७ नाइट्रोभेट ट्याब्लेट, १९३१ फेनारगन, २८० बोतल डाइलेक्स डिसिलगायत लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
भारतबाट भन्सार छली गरी नेपाल भित्रयाइरहेका अवस्थामा आर्थिक वर्ष ०७६/०७७ मा १ करोड ३ लाख ६१ हजार ७७७ रुपैयाँको समान बरामद र १६ जना मानिसलाई नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको थियो । त्यसैगरी चालु आवमा २७ लाख ७८ हजार ३३४ रुपैयाँको बराबरको सरसमान र ३ जनालाई भन्सार पठाएको छ । उनी आफ्नो एकवर्षे कार्यकालमा १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । उनीहरुबाट ४ लाख २६ हजार ७७३ रुपैयाँ रुपैयाँ राजश्व असुलउपर भएको छ ।
यसैगरी लहान प्रहरीले उनको कार्यकालमा ४ विघा १३ कठ्ठा जग्गाको २७ हजार ७९० वोट गाँजा फडानी गरेको छ । प्रहरीका अनुसार चालु आव ०७७/०७८ को हालसम्ममा घरेलु मदिराको कच्चा पदार्थ ३२ हजार ८८९ लिटर, तयारी मदिरा १० हजार ६४० लिटर, १८९ वटा मदिरा बनाउने भाडाकुडा र २ वटा मेसिन बरामद गरी नष्ट गरेका छन् । अवैध रुपमा गिट्टी बालुवा उत्खन्न नियन्त्रण गर्न ४९ वटा ट्याक्टर कारवाहीका लागि लहान नगरपालिकामा बुझाएको थियो । जसबाट २ लाख ४५ हजार राजश्व असुली भएको छ ।
इलाका क्षेत्रमा हुने कतिपय आगलागीका घटनाहरुमा पनि उनले आफ्नै सक्रियता ठूलो क्षति हुनबाट जोगाएका छन् । यस्तै, एकदमै जटिल मानिने अनलाइन ठगीका घटनाहरुलाई पनि उनले सफलता नजिक पुर्याएका छन् ।
प्रहरी चौकीहरुमा थप काम
लहानको नगर प्रहरी सडक विभागको एउटा कोठामा सिमित थिए । सैनिकले आफ्नो ब्यारेक हटायो । त्यही ब्यारेकमा अब प्रहरी बस्न व्यवस्था मिलाउन डिएसपी थापाले पहल थालिसकेको छन् । अहिले सरकारको अधिकारिक निकायहरुको काम सकेर १ विघा ५ कठ्ठा ६ धुर जग्गा प्रहरीको नाममा आएका छन् ।
यसैगरी, पक्की टोल प्रहरी चौकीका लागि नयाँ पक्की घर निर्माणाधिन अवस्थामा छ । धनगढीमाई नगरपालिका १२ विष्णुपुरकट्टिका प्रहरी चौकीका लागि पनि ५ कठ्ठा जग्गा बाटोसहित प्राप्त गरेका छन् । त्यसैगरी पहिलेको जग्गामा ४ धुर थपेर भगवानपुर गाउँपालिकाको ठाडी प्रहरी चौकीमा काम अगाडी बढाइएको छ ।
लहान बजारमा शान्ति सुरक्षा कायम गर्न ठाउँठाउँमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको डिएसपी थापाले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…