भोलीदेखि जनकपुरमा माछा मासु र दारु बेच्न तथा खान पनि नपाउने
जनकपुरधाम प्रवेश गर्ने मुख्यद्धार, सीमा एवम् जनकपुरधाम स्थित परिक्रममा मार्ग सोको आसपास भित्र पनि माछामासु तथा मदिरा विक्री वितरण, सेवन एवम् कारोवार गर्न वा गराउन नपाउने भनिएको छ ।

२०७७ पुस २ बिहीबार, दिउँसो ४:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा भोली (शुक्रबार) देखि माछा, मासु र मदिरा (दारु) बेच्न तथा खान नपाउने गरी निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै ऐतिहासिक विवाहपँचमी महोत्सवलाई मध्यनजर गर्दै जनकपुर क्षेत्रभित्र माछा, मासु वा मदिरा विक्री वितरणका साथै खान समेत निषेध गरिएको जनाइएको छ ।
पुस ४ गते शनिबार जनकपुर स्थित जानकी मन्दिर क्षेत्रमा ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वको सीताराम विवाहपँचमी महोत्सव मनाइने भएकोले पुस ३ गते शुक्रबार बिहान ६ः०० बजदेखि नै निषेध गरिएको जनाइएको छ ।
माछा, मासु र मदिरामा पुस ३ गते बिहानदेखि आगामी पुस ५ गते राती १२ बजेसम्मको लागि ३ दिन निषेध गरिएको जनाइएको छ । सो अवधीमा जनकपुर क्षेत्रभित्र सो समाग्री विक्री वितरणमा रोक लगाइएको हो ।
जनकपुरधाम प्रवेश गर्ने मुख्यद्धार, सीमा एवम् जनकपुरधाम स्थित परिक्रममा मार्ग सोको आसपास भित्र पनि माछामासु तथा मदिरा विक्री वितरण, सेवन एवम् कारोवार गर्न वा गराउन नपाउने भनिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम सूचना प्रकाशन गरिएको जनाउँदै आदेश पालना नभएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि जनाइएको छ । आदेश पालनाको लागि स्थानीय बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणमा आग्रह गरिएको छ ।
यता, प्रत्येक वर्ष सिडिओ कार्यालयले यस्ता सूचना जारी गरेपनि ठुल ठुला होटलहरुमा मदिरासेवन देखि लिएर माछामासुको विक्री वितरण निर्वाध हुने गरेको छ । साना साना व्यापारीलाई प्रहरीले समातेपछि केही होटलसँग सेटिँग गरेर माछा, मासु र मदिरा विक्री वितरणमा सहयोग पुरयाउँदै आएको गुनासो पनि सुनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…