रास्वपा (घण्टी) का नेता साहको घरमा प्रहरीको छापामारी, मोबाईलका मँहगा पार्टसहरु बरामद

२०८३ असोज ७ बुधबार
बेलुकी ५:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, गौर । रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेतासँग सम्बन्धित घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्टपुर्जा तथा अन्य सामग्री बरामद भएको छ ।

सशस्त्र प्रहरीले भन्सार छली गरी मोबाइलका पार्टपुर्जा तथा अन्य सामग्री लुकाएर राखिएको सूचनाका आधारमा मंगलबार राति करिब १ बजे उक्त घरमा छापा मारेको जनाएको छ ।

सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टको निर्देशनमा परिचालित टोलीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका प्रमुख एसपी चेतराज जोशीको कमान्डमा घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा ४५ जना सशस्त्र प्रहरी तथा गौर भन्सार कार्यालयका प्रतिनिधि सहभागी थिए ।

सशस्त्र प्रहरीका अनुसार घरभित्र बेवारिसे अवस्थामा लुकाएर राखिएको मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरिएको हो । बरामद सामग्रीको प्रारम्भिक मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ रहेको बताइएको छ ।

टोलीले सोही स्थानबाट दुई थान मोटरसाइकलसमेत बरामद गरेको छ । बरामद मोबाइल पार्टपुर्जा, अन्य सामग्री तथा मोटरसाइकल आवश्यक अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको भन्सार कार्यालयका प्रमोदकुमार सिंहले जानकारी दिए ।

ठूलो परिमाणमा मोबाइल पार्टपुर्जा बरामद भएपछि ती सामग्री कुन नाका हुँदै नेपाल भित्रिएका थिए भन्ने विषयमा समेत अनुसन्धान सुरु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार घरधनी रामबाबु साहले भारतबाट भन्सार छली गरी मोबाइल पार्ट्स ल्याएर घरमा भण्डारण गर्ने र पछि चन्द्रपुर हुँदै काठमाडौं पठाउने गरेको दाबी गरिएको छ । यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

घरधनी साह वा अन्य व्यक्तिको भन्सार छली तथा सामानको ओसारपसारमा संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीको वास्तविक स्रोत, स्वामित्व तथा ओसारपसारमा संलग्न व्यक्तिको पहिचान अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ असोज ७ बुधबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus