सिरहाको कमलदह सौन्दर्यीकरणको लागि साँसद यादवको चासो, बोर्ड गठन हुने
कमलदहको विकासका लागि चाँडै नै 'कमलदह विकास बोर्ड' गठनको तयारी

२०७७ मंसिर १२ शुक्रबार, बेलुकी ५:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । पौराणिक तथा ऐतिहासिक धार्मिक पर्यटकीय स्थल कमलदहको विकास र प्रवर्द्धनका लागि जसपा नेता तथा सांसद राजकिशोर यादवले चासो लिएका छन् ।
मिर्चैया नगरपालिका–९ मा अवस्थित कमलदहमा बिहीबार पूजापाठ तथा अबलोकन गर्दै सांसद यादवले यसको विकासका लागि चासो लिएका हुन् ।
कमलदह क्षेत्रको गुरुयोजना बनाएर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने उनले प्रतिवद्धता गरेका छन् । धार्मिक महत्त्व बोकेको कमलदह प्राकृतिक सम्पदाले भरिभराउ छ ।
तर, संरक्षण र प्रवर्द्धनको अभावमा अलपत्र जस्तै थियो । कमलदहमा करिब दुई दशकदेखि ठेक्का लगाएर माछा पालन गरिँदै आएकोमा पछिल्लो समय भने यहाँका अगुवाहरूले ठेक्का लाग्न दिएका छैनन् ।
कमलदहको पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि उनीहरूले विभिन्न निकायमा गुहार लगाइरहेका छन् । तर, कतैबाट पहल भने भएको पाइँदैन । कमलदहको अवलोकन गर्न पुगेका नेता यादवले स्थानीय सरकार र जिम्मेवार निकायहरूले यसको प्रवर्द्धनका निम्ति चिन्तित नहुनु दुस्खद भएको जिकिर गरे ।
'यसको प्रवर्द्धन, विकास र सबल व्यवस्थापन भए कमलदह स्थानीय तहको प्रमुख आम्दानीको श्रोत बन्छ, उनले भने, "तर त्यस्तो नहुनु दुस्खद हो ।" उनले यहाँका अगुवाहरूलाई कमलदहको विकासका लागि प्रक्रिया अगाडी बढाउन निर्देशन दिँदै यस अभियानमा आफ्नो भरपूर सहयोग रहने बाचा गरेका छन् ।
कमलदहको विकासका लागि चाँडै नै 'कमलदह विकास बोर्ड' गठनको तयारी यहाँका अगुवाहरुको छ । यस लगत्तै यसको विकास, प्रवर्द्धन र सौन्दर्यीकरणको कामका लागि अगाडी बढ्ने उनीहरूको योजना छ ।
झण्डै २ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको कमलदह क्षेत्रमा हरेक नयाँ वर्ष, चाडपर्व एवं विदाका बेला घुमफिर तथा पिक्निक मनाउनेहरुको घुइँचो लाग्नुको साथै प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन सर्वसाधारणको निकै ठूलो भीड लाग्ने गर्दछ । यहाँ हरिबोधिनी एकादशी दिनदेखि चार दिनसम्म ऐतिहासिक कमलदह मेला पनि लाग्दै आएको छ ।
पर्यटकहरुलाई आकर्षित गर्न सक्ने धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण यस कमलदहको आधुनिक तरिकाले विकास भए देशकै पर्यटकीय गन्तव्यमध्ये एक बन्ने सम्भावना छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…