गरिब, किसान, दलित र अल्पसँख्यकको लागि नेकपा मात्र हुनः नेता बरबरिया
नव प्रवेशीहरुलाई नेता बरबरियाले अबिर र माला लगाएर नेकपामा स्वागत गरेका थिए ।

२०७७ कार्तिक २७ बिहीबार, बिहान १०:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का धनुषा जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य नेता श्रवण कुमार बरबरिया (यादव) ले नेकपा गरिब, दलित र अल्पसँख्यकको पार्टी भएको बताएका छन् ।
बुधबार शहिदनगर नगरपालिकाको वडा नं. ९ गोठकोयलपुर स्थित आयोजना गरिएको दिपावली, छठको शुभकामना कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेता बरबरियाले नेकपा पार्टी गरिबको, किसानको हक अधिकारको लागि नेतृत्व गरेको जीकिर गरे ।
हँसुवा (हँसिया) हथौडा गरिब, किसान, मजदुरको काम गरी खाने प्रकृतिको चिन्ह रहेको बताउँदै उनले गरिब, निमुखा, किसान वर्गको लागि नेपाल कम्यूनिष्ट पार्टी सधैं अग्रसर छ, उनले भने,–“नेपाली काँग्रेस, जनता समाजवादी पार्टी गरिबको नाममा, किसानको नाममा, अल्पसँख्यकको हकअधिकारको नाममा भोट मात्र लिन्छन् ।”
उनले धनुषाको पूर्वी दक्षिणी भेकको गरिब किसानहरुले नेपाल कम्यूनिष्ट पार्टीलाई सघाएको बताउँदै शहिद सूर्यनाथ रान किसानको हक अधिकारको लागि आफ्नो ज्यानको आहुति दिएको उल्लेख गरे । उनले नेकपा बाहेक अन्य कुनै पनि पार्टी गरिब, किसानको लागि नभएको जिकिर गरे ।
शहिदनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामदेव मरिक (यादव) को अध्यक्षता तथा नेता बरबरियाकै प्रमुख आतिथ्यमा सम्पन्न भएको शुभकामना आदान प्रदानको क्रममा करिब एक दर्जन नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी त्याग गरी नेकपामा प्रवेश गरे ।
नव प्रवेशीहरुलाई नेता बरबरियाले अबिर र माला लगाएर नेकपामा स्वागत गरेका थिए । नव प्रवेशीहरुले नेपाली काँग्रेस चुनावमा भोंट मात्र लिएर आफूहरुको लागि केही नगरको कारण असन्तुष्टि जनाउँदै नेकपामा प्रवेश गरेको प्रतिक्रिया दिएका थिए ।
सोही क्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै शहिदनगर नगरपालिकाका मेयर एवम् नेकपामा प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले स्थानीय सरकार गठनपछि नेकपाकै सरकारले गाउँ गाउँमा गरेको विकासको गन्ती गराए ।
उनले सडक विकास, शिक्षा विकास, स्वास्थ्य क्षेत्रको समुन्नती, आम नागरिकको स्वतन्त्रता, हक अधिकारको लागि खुल्ला रुपमा नेतृत्व गरेको जिकिर गरे । सोही क्रममा नगरकी उपमेयर शिला देवी कापरले गाउँवासीमा दिपावली र छठको शुभकामना दिँदै महिला अधिकारको लागि सधैं अग्रसर रहेको बताईन् ।
कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तनुकलाल कुसियैत यादव, नेकपामा हलखोरी कापर लगायतका वक्ताहरुले समेत नेकपाको काम कारवाही र शैलीबारे धारणा राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…