ऐतिहासिक सिम्रोनगढा प्राचीन मूर्तीहरु अलपत्र
सन् १३५० मा दिल्लीका बादशाह ग्यासुद्दीन तुगलकले सिम्रौनगढमा आक्रमण गर्दा मूर्तिको हात भाँचिएको

२०७७ कार्तिक १७ सोमबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । ऐतिहासिक महत्व राख्ने बाराको धार्मिक एवम् पर्यटकीय स्थल बाराको सिम्रौनगढमा पुराना मूर्तिहरूको व्यवस्थापनमा कसैले पनि ध्यान दिएको छैन।
अमृतगंजस्थित रानीवास रामजानकी मन्दिरको प्राङ्गणमा अहिले ऐतिहासिक मूर्ति अलपत्र अवस्थामा छ। सन् १३५० मा दिल्लीका बादशाह ग्यासुद्दीन तुगलकले सिम्रौनगढमा आक्रमण गर्दा मूर्तिको हात भाँचिएको थियो।
बहुमूल्य कालो पत्थरमा अङ्कित कालीमाताको यो मूर्ति अहिले त्यत्तिकै मन्दिर प्राङ्गणमा राखिएको छ। सोको व्यवस्थापनतर्फ कसैले पनि ध्यान दिएको छैन। सिम्रौनगढ बजार, अमृतगंज रानीवास बजार, खजानी, मौवाही, ननसागरा ढाट, झवानी, कमलपुर, सतुवाही, हरिहरपुर, गङ्गानगर, कोतवाली, नैकाटोला, बिसुनपूर्वा, सानो ठूलो इटवाल, कनकपुरलगायतका ठाउँमा ऐतिहासिक एवम् पुरातात्विक मूर्तिहरू बेलाबखत भेटिने गरेका छन्।
यसरी भेटिएका मूर्तिहरू केही निजीस्तरमा गाउँलेहरूले घरमा राखेर पूजाआजा गर्दै आएका छन् भने कतिपयले मन्दिर बनाएर व्यवस्थापन गरेका छन्।
केही मूर्ति चोरी, तस्करीबाट बिक्री भएको पनि छ। ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल सिम्रौनगढका मूर्तिहरू सरकारले संरक्षण गर्नुपर्ने स्थानीयको माग छ। संरक्षणमा प्रदेश र स्थानीय सरकारले पनि ध्यान दिएको पाइएको छैन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…